धुलिखेल । नेपाल बार एशोसिएशन, काभ्रेले तेमाल गाउँपालिकाका जनप्रतिनिधिहरुसँग कानुनी साक्षत्कार कार्यक्रम सम्पन्न गरेको छ । काभे्र बारले आज तेमाल गाउँपालिकाका जनप्रतिनिधि लगायत न्यायिक समितिका पदाधिकारीसँग कानुनी साक्षत्कार कार्यक्रम थालेको हो ।
साक्षत्कार कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सलासिं तामाङले तेमालमा न्यायका लागि गाउँपालिकाभरिका जनतालाई न्यायिक शिक्षा प्रदान गर्न काभ्रे बारसँग सहकार्य गरेर प्रत्येक वडामा कानुनी साक्षत्कार कार्यक्रम सञ्चालन गर्न तयार रहेको बताएका छन् । अध्यक्ष तामाङले गाउँपालिकामा रहेको न्यायिक समितिले सम्पादन गरेको न्याय सम्बन्धी गतिविधी प्रशंसनीय रहेको बताएका थिए ।
काभ्रे बारका अध्यक्ष देवकुमार मोक्तानको नेतृत्वमा साक्षत्कारको लागि तेमाल पुगेका थिए । काभ्रे बारका अध्यक्ष मोक्तानले स्थानीय तहले स्थानीय सरकार सञ्चालन ऐन २०७४ अन्तर्गत रहेर गाउँपालिकाले न्याय सम्पादनको क्षेत्रमा काम गर्नुपर्ने बताए । सुखी र समृद्ध नेपाल निर्माणको अभियान कानुनसँगै जोडिएर आएको हुनाले कानुन कार्यान्वयनमा स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरु लाग्नुपर्ने मोक्तानले बताए ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष दुर्गामाया तामाङले गाउँपालिकामा ६१ जना मेलमिलापकर्ता र ३ जना न्यायिक समितिले न्याय सम्पादनको काम गरेको बताएकी छन् । उपाध्यक्ष तामाङले गाउँपालिकाका विद्यालयहरुमा पनि कानुनी ज्ञान सम्बन्धी कार्यक्रम सञ्चालन गर्नुपर्ने बताएकी छन् ।
तेमाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले विकास निर्माणको अभियानलाई सहज बनाउन गाउँसभाबाट अहिलेसम्म ऐन, नियमावली र कार्यविधी ७ वटा निर्माण गरिएको बताएका थिए । उनले थप कानुन बनाउनका लागि गाउँपालिकाले र जिल्ला बारसँग सहकार्य गर्ने बताएका छन् ।
कानुनी साक्षत्कार कार्यक्रममा काभ्रे बारका उपाध्यक्ष विजयभक्त श्रेष्ठ,सचिव मधुसुदन वाग्ले, तेमाल गाउँपालिकाका प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष ज्ञानबहादुर तामाङ, वडा नं. २ का अध्यक्ष तेमालसिं तामाङ, जिल्ला बारका कोषाध्यक्ष रामप्रसाद मानन्धर र जिल्ला बार सदस्य परमात्माराम पराजुलीको सहभागीता रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।