काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको केन्द्रीय सचिवालय बैठक आज (बुधबार) बस्दै छ ।
बैठकमा विवादित अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल हुने बताइएको छ । साथै बैठकमा निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाबारे पनि छलफल हुने बताइएको छ ।
पछिल्लो समय एमसिसी र बाँस्कोटाको विषयलाई लिएर प्रतिपक्षी, जनस्तर र पार्टीभित्रबाटै दबाव आउन थालेपछि नेकपाले बैठकबाट उक्त विषय सम्बोधन गर्ने एक जना सचिवालय सदस्यले बताए । उनका अनुसार बैठक बिहान सवा ११ बजे बस्ने भनिएको छ । बैठकमा एमसीसी र पछिल्लो समय नेकपाले बनाएको कार्यदलले दिएको सुझावका विषयमा अध्यक्षद्वयले आफ्नो धारणा राख्ने बताइएको छ ।
यसअघि गत १० फागुन शनिबार बसेको बैठकमा यी विषयमा छलफल भए पनि नेतृत्व टुंगोमा पुग्न सकेको थिएन। त्यसको अघिल्लो दिन ९ फागुनमा एमसीसी अध्ययन कार्यदलले करिब २० दिन लगाएर गरेको अध्ययनको निष्कर्षसहित प्रतिवेदन तयार पारेर बुझाएको थियो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।