काठमाडौं । हुँदै नभएका प्रहरीलाई समेत तलब दिएर प्रहरीमा अनियमितता भएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई पूर्वडिएसपीसहित सात प्रहरीविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ । साथै उनीहरूको अनियमितता लुकाउन सहयोग गर्ने लेखापरीक्षणमा आबद्ध पाँच कर्मचारीलाई पनि मुद्दा चलेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
तलब, रासन भत्ता तथा अन्य भत्ता अनियमितता गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय हुम्लाका तत्कालीन प्रहरी नायब उपरीक्षक त्रिलोकबहादुर चन्द र कृष्णबहादुर कुँवरसहित १० जनाविरुद्ध मुद्दा दायर भएको हो । दुई पूर्वडिएसपी तथा लेखापात्र माधव चन्द ठकुरीलाई थुनामै राखेर आयोगले मुद्दा चलाएको हो ।
पूर्वडिएसपी चन्द तथा कुँवरविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर भएको छ । चन्दसहित तत्कालीन लेखापाल सइ माधव चन्द ठकुरी, लेखाशाखामा कार्यरत लेखा सहायकहरू हवल्दार टंकबहादुर मल्ल र प्रहरी जवान सर्वराज खत्रीसमेतको मिलेमतो रहेको भन्दै आयोगले मुद्दा दायर गरेको हो । जिल्ला प्रहरी कार्यालय हुम्ला र अन्तर्गतका प्रहरी कर्मचारीको ०७२ असोजदेखि ०७३ असारसम्म तलब, स्थानीय भत्ता तथा रासनसमेतको भर्पाईमा जोडजम्मामा फरक पारी ३० लाख ९० हजार पाँच सय ८ रुपैयाँ ५० पैसा हिनामिना गरेको आयोगले जनाएको छ । त्यस्तै, कार्यरत नै नरहेका ईश्वरी श्रीष भन्ने व्यक्तिको नाममा स्थानीय भत्ता तथा रासन भत्तामा खर्च गरेको देखाएर ६९ हजार ५१ रुपैयाँसमेत अनियमितता गरेका थिए ।
त्यस्तै उनीहरूको अनियमिततामा साथ दिने कोष तथा लेखा नियन्त्रक कार्यालय हुम्लाका तत्कालीन लेखापाल भक्तबहादुर शाहीविरुद्ध समेत मुद्दा दायर भएको छ । प्रहरी कर्मचारीको तलब, स्थानीय भत्ता तथा रासन भत्तासमेतको भर्पाईमा जोडजम्मामा फरक पारी बढी खर्च लेखेको तथा प्रहरी कर्मचारीको रासन भत्ता शीर्षकमा स्वीकृत मापदण्डभन्दा अस्वाभाविक रूपमा बढी दरमा खर्च भुक्तानी देखाएर निजी लाभमा लेखापरीक्षण गरेकाले उनलाई पनि प्रतिवादी बनाइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















