महाभारत । काभ्रे जिल्लाको विकट क्षेत्रको रुपमा रहेको डाँडापारी स्थित महाभारत गाउँपालिकामा कृषि प्राविधिक शिक्षालयको उद्घाटन भएको छ । आज (मंगलबार) एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले कृषि प्राविधिक शिक्षालयको उद्घाटन गरेका हुन् ।
यससँगै डाँडापारीकै पहिलो प्राविधिक विद्यालयको रुपमा वडा नं. १ धापमा रहेको भैरव माविमा कृषि प्राविधिक विषय (वाली विज्ञान) को पठनपाठन सुरु भएको छ । प्राविधिक शिक्षालयको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष जिम्बाले महाभारत गाउँपालिकाले विकासमा विस्तारै पड्को मार्दै गएको उल्लेख गद भौतिक पूर्वाधार मात्रै नभई शिक्षाको लगानीले विस्तारै समाज रुपान्तरणमा अघि बढेको बताए ।
एक पालिका, एक प्राविधिक शिक्षालय कार्यक्रम अन्तर्गत बाली विज्ञानको पठनपाठन सुरु गरिएको प्रवक्ता रविन मोक्तानले जानकारी दिए । उनका अनुसार अहिले ४२ जना बालबालिका बाली विज्ञान विषय लिएर पढिरहेका छन् ।
यो शिक्षालयमा अहिले महाभारतसँगै खानीखोला गाउँपालिकाका विद्यार्थीहरु पनि पढ्न जाने गरेका छन् । सिन्धुलीको घ्याङलेख र मरिण गाउँपालिकाका बाललिकालाई समेत प्राविधिक विषय पढ्न सजिलो भएको प्रवक्ता मोक्तानले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















