चितवन। पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अभिभावकत्व ग्रहण गरेका दुई बालकमध्ये एक अरूण मुसहरको घर तयार भएको छ । प्रचण्डले विसं २०७५ वैशाखमा अभिभावकत्व ग्रहण गरेका मुसहरको घर तयार भएर परिवारलाई हस्तान्तरण गर्ने क्रममा रहेको छ ।
भरतपुर–२७ र २८ को पिपरा, दद्रेनीस्थित बर्दाह मध्यवर्ती सामुदायिक वनछेउमा बसोवास गरिरहेका अतिविपन्न एवं सीमान्तकृत ती बालकका परिवार काँस निर्मित अव्यवस्थित घरमा कष्टकर जीवन बिताइरहेको घरलाई विस्थापित गरी पक्की घर निर्माण गर्न लागिएको स्थानीय सामाजिक अभियन्ता टीकाराम भूषालले बताए ।
‘शौचालय र भान्छाघरसहितको दुईकोठे घर एउटा तयार भयो, अरु एक महिनाभित्रै निर्माण गरिसक्ने योजना बनाएका छौँ’, उनले भने । अरु राजु मुसहर, शम्भु मुसहर, भुखला मुसहर, दीपक मुसहर र ‘प्रचण्ड’ले अभिभावकत्व ग्रहण गरेका अर्का बालक पत्रुस माझीको घर बन्ने क्रममा रहेको अभियन्ता भूषालले बताए । बनेको घरमा ३ लाख ८० हजार खर्च भएको र अब बन्ने घरहरु पनि त्यस्तै र त्यति नै लागतमा बन्ने उनले बताए ।
दैनिक मजदुरी र माछा मारेर जीविकोपार्जन गर्दै आएका माझी मुसहर समुदाय छाप्रोजस्तो घरमा बसेका थिए । महानगरपालिकालाई खरमुक्त घर निर्माण गर्ने योजनाअनुसार अतिविपन्न एवं सीमान्तकृत घरपरिवारलाई निःशुल्क जस्तापाता वितरण गर्ने काम अन्तिम चरणमा पुगेको र तीमध्ये माझी मुसहर समुदायको घरको अवस्था जीर्ण भएकाले बाँकी पाँच घर तत्काल निर्माण गर्न लागिएको अभियन्ता भूषालले बताए ।
सीमान्तकृत र राज्यको पहुँचभन्दा टाढा रहेका मुसहरहरुलाई जग्गाको व्यवस्थापन गरी नमुना बस्ती निर्माणमा पनि दिगो योजनाका साथ अघि बढ्नुपर्ने भएकोले भरतपुर महानगरपालिकाको विशेष सहयोग र अन्य दातृ संस्थाहरुको समेत सहयोग जुटाई मुसहरहरुलाई तत्काल सातवटा घर बनाउन लागिएको भूषालको भनाइ छ ।
१० परिवारको मुसहर बस्तीमा हाल ७६ जना छन् । उनीहरुमध्ये प्रायः सबै जना निरक्षर छन् । गरिबी र निरक्षरताका कारण उनीहरुमा सामान्य चेतनाको पनि कमी छ । छ दशकभन्दा लामो समयदेखि मुसहरहरु त्यहाँ बसोवास गरे पनि कसैले आफ्ना लागि जमिन जोड्न सकेका छैनन् । जमिनको अभावमा उनीहरुको बसोवास अव्यवस्थित छ । यस क्षेत्रमा जंगली जनावरको पनि जोखिम छ ।
बस्तीसम्म जाने बाटो छैन, बिजुली छैन । ट्युवेल र शौचालय पर्याप्त छैन । बर्सादमा सबैका घर डुबानमा पर्छन् । मुसहर समुदायका उनीहरु सबै भूमिहीन हुन् । विपन्न अवस्थाबाट गुज्रिएका मुसहर जातिको स्थिति कहालीलाग्दो छ । ऐलानी जग्गामा खरले छाएका टहराहरुमात्रै छन् ।
६० वर्षीय भुकल मुसहर भन्छन्, ‘पुस्तौँदेखि हामी यो माटोमा पसिना बगाउँदै छौँ, अझै पनि बर्दाह मध्यवर्ती सामुदायिक वनको जमिनमा बसोवास गरिरहेका छौँ, मुसहर बस्तीका कसैको पनि गतिलो घर छैन, भत्किएका घर प्रत्येक वर्ष बनाउनुपर्छ ।’ मुसहर समुदायमा अधिकांश पुरूषले मात्रै माछा मारेर र मजदुरी गरेको भरमा परिवारको पालनपोषण हुँदै आएको छ । मजदुरीमा जाने पुरूष मादक पदार्थ सेवन गरेर घर आउँदा परिवार तथा समाजमा अन्य समस्यासमेत उत्पन्न हुने गरेको उनले बताए ।
मुसहर बस्तीमा शुद्ध खानेपानी, शौचालय, सडक, विद्युत्लगायत आधारभूत समस्या समाधानका लागि वडा कार्यालयले सकेजति सहयोग गर्ने भरतपुर–२८ का वडाध्यक्ष आशबहादुर कुमालले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















