काठमाडौं । तस्करीको करिब ३६ तोला सुन बाँडीचुँडी लिएको आरोपमा इन्स्पेक्टरसहित १६ जना प्रहरीमाथि छानबिन सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरीचौकी टिमुरेका इन्चार्ज रहेका इन्सपेक्टर खेम नेपालसहित १६ जनालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई बुधबार पत्राचार गरेको छ । यो समाचार आजको नयाँपत्रिका दैनिकमा छापिएको छ ।
प्रहरीको प्रारम्भिक छानबिनमा सुन लुकाएको पुष्टि भएपछि ती प्रहरीमाथि अख्तियारले छानबिन अघि बढाएको हो । ती प्रहरी बहाल रहँदा आफ्नो विरुद्धको प्रमाण लोप वा नाश गर्न सक्ने वा अनुसन्धानमा बाधा पुर्‍याउने आधारमा उनीहरूलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयमा पत्राचार गरिएको आयोगले जनाएको छ । निलम्बनपछि उनीहरूलाई हिरासतमै लिएर अनुसन्धान अघि बढाउने आयोगको तयारी छ ।
अख्तियारले प्रहरी निरीक्षक खेमप्रसाद नेपाल, प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरू रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर तामाङलाई निलम्बन गर्न अख्तियारले पत्राचार गरेको हो ।
प्रहरी जवानहरू शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रीता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, ताराबहादुर प्रजा र प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठलाई पनि निलम्बन गर्न आयोगले पत्राचार गरेको छ ।
उनीहरू सबैलाई केही दिनअघि नै जिम्मेवारीबाट हटाएर दंगा नियन्त्रण गण हेटौँडामा राखिएको छ । प्रहरी कार्यालयबाहिर जान नपाउने गरी उनीहरूलाई गणभित्र राखिएको हो । सीमा प्रहरी कार्यालयमा ३७ जना प्रहरीको दरबन्दी रहेकोमा तस्करीको सुन बरामद भएको दिन ड्युटीमा रहेका सबै प्रहरी मिलेर लिएका हुन् । सो चौकीमा हाल थप प्रहरी पठाइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।