काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कुनै पनि हालतमा विभाजित नहुने बताएका छन् ।  नेकपा बागमती प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई बिहीबार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।
कम्युनिष्ट पार्टी पोखरीजस्तो नभइ नदीजस्तो भएकाले विभिन्न गड्गडाहड, भुँवरीहरु बेलाबेला देखिइरहने प्रचण्डले बताए । ‘कम्युनिष्ट पार्टी पोखरीजस्तो एकैठाउँ जमेर बस्दैन । भित्ताहरु भत्काउँदै ठेल्दै भुँमरी पर्दै महासागर अर्थात् साम्यवादसम्म लम्कने हो ।’ उनले भने, ‘कम्युनिष्ट पार्टी साम्यवादमा पुगेपछिमात्र शान्त रहने र जीवन्त कम्युनिष्ट पार्टीमा विभिन्न प्रकारका असहमतिहरु देखिइरहने छ ।’
ठूलो सङ्घर्षपछि एकता सम्पन्न भएकाले पार्टीभित्र असहमति देखिए पनि एक ढिक्का रहेको दावी गर्दै उनले हार र जितका विभिन्न अनुभवबाट पाठ सिक्दै, नङ्ग्रा र सिङ जुधाउँदै लडेको सबै अनुभवपछि पार्टी एकता भएको बताए ।
केही असहमति भए पनि निरन्तर छलफलबाट एकताका बाँकी काम चाँडै पूरा गरिने उनले बताए । ‘के के न भयो कि जस्तो बाहिर कुरा सुनिन्छ, कम्युनिष्ट पार्टीमा यो सामान्य हो ।’ प्रचण्डले भने ।

Comments

comments