सिन्धुपाल्चोक । महाभूकम्पले क्षतिग्रस्त भएको जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका ८ स्थित ईर्खु चिलाउनेमा रहेको सातकन्या कालीदेवी मन्दिरको पुनर्निर्माण हुने पक्का भएको छ । प्रतिनिधिसभा सदस्य सांसद शेरबहादुर तामाङले पुनर्निनिर्माणको लागि आवश्यक बजेट १० लाख रुपैयाँ विनियोजन गरेसँगै पनर्निर्माण हुने पक्का भएको हो ।
मन्दिर पुनर्निर्माणको विहीबार नगरप्रमुख अमानसिं तामाङले एक कार्यक्रमबीच शिलान्यास गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले कालीदेवी माताको महिमालाई प्रचारप्रसार गर्दै चिलाउनेलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिदैं ओझलमा रहेको मन्दिरको प्रचारप्रसार गर्न अनुरोध गरे ।
कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष तिर्थ ब.श्रेष्ठ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ईर्खु वडा कमिटी ईन्चार्ज फुलमान तामाङ, अध्यक्ष रामकृष्ण दंगाल, मेलचौर भैंसे सडक बिकास तथा विस्तार आयोजना निर्माणका अध्यक्ष लिला ब.श्रेष्ठ“केदार“, नेपाल राष्ट्रिय कर्मचारी संगठन रेडियो नेपाल केन्द्रीय समितिका अध्यक्ष एवं मन्दिर निर्माणका अभियान्ता राजेश श्रेष्ठ“प्रयास“ लगायतका अतिथिहरुको सहभागिता रहेका थिए ।
मन्दिर निर्माणको लागि नेपाल कम्युनिस्ट पार्टी नेकपा का केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला सचिव एवम् सविधानसभा सदस्य दावा तामाङ, सांसद शेर बहादुर तामाङका स्वकीय सचिव तथा जिल्ला पार्टी सदस्य निर्मल कुमार बन्जारा, नगर प्रमुख अमानसिंह तामाङको विशेष सहयोग रहेको स्थानीय बताउँछन् ।
यस अघि मन्दिर निर्माणको लागि डिपीआर गराई गत कात्तिकमा २ लाख रुपैयाँ कमान्तर गरेको थियो । त्यसै गरि वडा कार्लयबाट आउँदो बजेटमा भजनमण्डल र खानेपानीको लागि विनियोजन रकमान्तर गर्ने गरि मन्दिर निर्माणमा सहयोग गर्ने वडा अध्यक्ष तिर्थ ब.श्रेष्ठले बतए ।
मन्दिर निर्माणको लागि काठमाडौं आई अस्थाई बसोबास गर्ने युवा तथा मान्यजनहरूबाट ब्यक्तिगत रूपमा पनि रकम संकलन गर्ने योजना रहेहको बताइएको छ ।
सातकन्या कालीदेवीको यस्तो छ महिमा
सिन्धुपाल्चोक जिल्लाको प्रसिद्ध गौराति भीमेश्वरसँग साइनो जोडिएको अर्को प्रसिद्ध मन्दिर हो सातकन्या कालीदेवीको मन्दिर । चौतारा साँगाचोकगढी नगरपालिका वडा न ८, चिलाउनेमा अवस्थित यो मन्दिर परिसरबाट जुगल हिमालको मनोरम दृष्य त देखिन्छ नै त्यो भन्दा पनि सातकन्या कालीदेवीको दर्शनबाट प्राप्त हुने अलौकि सन्तुष्टिको बयान गरेरै साध्य छैन ।
यो मन्दिरको स्थापना कहिले भयो भन्ने कुनै तथ्याँक त छैन तर प्रत्यक कार्तिक पूर्णिमाको अघिल्लो साँझबाट यहाँ मेला सुरु भई पूर्णिमाको दिन समापन हुँदै आएको छ । पूर्णिमाको दिनबाट नै प्रसिद्ध गौराति भीमेश्वरको मेला सुरु हुने र सो भन्दा पहिला दिदी अर्थात सातकन्या कालीदेवीको पूजाआजा हुँदै आएको बुढापाकाहरु बताउँछन् । यस मानेले पनि यो मन्दिर गौराति मन्दिरको अस्तित्व आएदेखि नै रहेको प्रष्ट हुन्छ ।
सातकन्या कालीदेवीलाई विधिवत पूजा गरे मनोकाँक्षा पुरा हुने जनविश्वास रेहको छ । प्रत्येक कार्तिक पूर्णिमाको साँझबाट सुरु भई पूर्णेको दिन हुने यस देवीको जात्रा भर्न हजारौं भक्तजनहरु आउने गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।