तेमाल । काभ्रेको तेमाल गाउँपालिका वडा नंं. ६ मा शिक्षक, अभिभावक, विद्यार्थी र वडा शिक्षा समितिबीच शैक्षिक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रम वडा शिक्षा समितिको आयोजनामा पन्चकन्या माध्यमिक विद्यालयमा शुक्रबार सम्पन्न भएको हो ।
सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा खास्किएको भनेर आलोचना भइरहेको बेला वडा नं. ६ को वडा शिक्षा समितिले समस्याको पहिचा र समाधानको उपाय खोज्न शैक्षिक सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रम गरेको वडा अध्यक्ष तथा वडा शिक्षा समितिका संयोजक विकु मोक्तानले बताए ।

शैक्षिक सुधार नहुनुको कारण र गुणस्तरीय शिक्षा खस्किनुमा शिक्षक र अभिभावक जिम्मेवार रहेको अन्तरक्रिया कार्यक्रमले निश्कार्ष निकालेको छ । त्यसैगरि सरोकारवाला र नियमन निकायको पनि शैक्षिक सुधारको बाधक रहेको देखिएको छ ।
‘वडा भित्रको शैक्षिक अवस्था बुझ्न हामीले सम्पुर्ण अभिभावकहरु सबैलाई बोलाएका थियौं । उनीहरु न आफ्नो बच्चाको विषयमा बुझ्न विद्यालय आउँछ, न विद्यालयले बोलाउँदा आउँछ । आफ्नो बच्चा प्रतिको चासो नै देखिएन ।’ वडा शिक्षा समिति संयोजक तथा वडा अध्यक्ष मोक्तानले भने, ‘शिक्षकहरुले पनि विद्यार्थीलाई कसरी अनुसासनमा राख्ने भन्ने योजना नै देखिएन । जथाभावी विदा लिने, पाठ योजना नबनाई पढाउने, दिन कटाउने मानो कटाउने मात्र गरेको पाइएको छ ।’
कार्यक्रममा तेमाल गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय प्रमुख र शिक्षा शाखाका प्रमुखलाई समेत निम्त्याएकोमा उपस्थित भएनन् । ‘उहाँहरू कोहि पनि उपस्थित हुनुभएन । यसबाट के कुरा थाहा हुन्छ भने, नियमान निकाय र सरोकारवाला निकाय पनि शैक्षिक सुधान नहुनुमा जिम्मेवार देखिन्छ ।’ मोक्तानले चिन्ता लिँदै भने ।
पञ्चकन्या माविका शिक्षक अभिभावक संघका अध्यक्ष लाल बहादुर तामाङले समस्याहरू धेरै रहेको भन्दै अगामी दिनहरूमा सुधार गर्दै गुणस्तरीय शिक्षाको लागि आफूले पहल गर्ने बचन दिए ।
विद्यालयका प्रधानाध्यापक टंकमान लामाले विद्यालयमा समस्या आउनुको कारण अभिभावककै कमिकमजोरी प्रमुख भएको बताए ।
प्रधानाध्यापक लामाले विद्यार्थीलाई गाली र सामान्य हातपात पनि गर्न नपाएकोले अनुशासनमा राख्न नसकेको प्रतिक्रिया दिए । ‘पहिलो कुरा त विद्यार्थीलाई गाली र सामान्य हातपात पनि गर्न नपाएकोले अनुशासनमा राख्न गाह्रो छ ।’ लामाले भने, ‘दोस्रो कुरा मैले प्रत्येक अभिभावकहरूलाई फोन सम्पर्क गरी वा उहाँहरूको घरदैलोमा नै गएर पनि छोरा छोरीको रिजल्ट लिनका लागि आग्रह गर्दा पनि आउनु भएन ।’
विद्यार्थीका अभिभावकले पनि आफ्नो बच्चालाई सम्झाउनै नसकेको गुणसो आफूसँग गरेको उनले बताए ।

Comments

comments