रोशी । काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. १२ का जननिर्वाचित वडा सदस्य स्वर्गीय विनोद कुमार सिंजाली मगरको श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । वडा कार्यालयमा भएको उक्त श्रद्धाञ्जली कार्य वडाका सहकर्मीहरु र जनताले स्वर्गीय मगर प्रति श्रद्धाञ्जली दिएका थिए । वडा कार्यालयले मगरको सम्मानमा आधा झण्डा झुकाइएको छ ।

श्रद्धाञ्जली सभा वडाअध्यक्ष रामबहादुर मोक्तानको अध्यक्षतामा वडा कार्यालय प्रांगणमा भएको भएको थियो । श्रद्धाञ्जलीसभामा जनप्रतिनिधि, स्थानीय समाजसेवी, शिक्षक तथा स्थानीयबासीहरुले स्वर्गीय सिंजालीप्रति श्रद्धा व्यक्त गरेका थिए । श्रद्धाञ्जली सभामा नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट तीर्थ बोम्जन ‘हेमन्त’ र नेपाली कांग्रेसको तर्फबाट विलम मोक्तानले शब्दद्वारा श्रद्धाञ्जली व्यक्त गरे.का थिए ।
कार्यक्रममा शिक्षकहरु तिलक रायमाझी र प्रदिप मुक्तानले स्वर्गीय सिंजालीको योगदानको चर्चा गर्दै श्रद्धा व्यक्त गरे भने स्थानीय समाजसेवी जीतबहादुर पुलामीले पनि श्रद्धाञ्जली व्यक्त गरेका थिए । सिंजालीको गत फागुन ९ गते शुक्रबारका दिन रोशी गाउँपालिका वडा नं. १२ को केराबारीबाट मगर संघ बागमति प्रदेशको प्रशिक्षण कार्यक्रमा सहभागी हुन आउने क्रममा अचानक हृदयघात भई निधन भएको थियो ।

स्वर्गीय सिंजालीले आफ्नो जीवनको उर्वर समयलाई शिक्षा क्षेत्रको सेवामा समर्पित गरेका थिए ।
वडाको विन्धबासिनी आधारभूत विद्यालय केराबारीको प्रधानाध्यापकबाट निवृत्त हुनु भएका सिंजाली पछिल्लो समय जनताको सेवामा आफूले आर्जन गरेको अनुभव समेत उपयोग गर्दै गाउँको विकास निर्माणका काममा दत्तचित्त भएर लागेका थिए ।
उनी काभ्रेको रोशी गाउँपालिका वडा नं. १२ मा तत्कालिन एनेकपा (माओवादी) बाट लोकप्रिय मत प्राप्त गर्दै निर्वाचित भएका रोशी गाउँपालिकाका जनप्रिय गाउँसभा सदस्य थिए ।

गाउँपालिकाद्वारा गाउँसभा सदस्य भएर पु¥याउनु भएको योगदानको उच्च सम्मान गर्दै गत फागुन १२ गते सोमबार एकदिन सार्वजनिक विदा दिएको थियो । स्वर्गीय विनोद कुमार सिंजाली मगरले सेवा गरेको वडा कार्यालयले रोशी गाउँपालिकाको वडा नं. १२ मा भोली र पर्सी २ दिन सार्वजनिक विदाको घोषणा गरेको छ ।
श्रद्धाञ्जली सभामा वडा सदस्य शुकलाल दोङ, महिला सदस्य मुना घिमिरे मैनाली, दलित सदस्य शोभा वि.क. लगायत स्थानीय युवा नेता अभियान भूजेल, वडा सचिव पुञ्जलाल श्रेष्ठको सहभागिता रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















