यस्ता रहेछन् सरकारले गोप्य राखिएको भनिएका निर्णयहरु काठमाडौं । सरकारले आइतबार बसेको मन्त्रीपरिषद् बैठक गोप्य राखेको भनि सर्वत्र चर्चाको विषय बन्यो । मन्त्रीपरिषद्को बैठकपछि सुचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटासँग संचारकर्मीले निर्णयबारे जानकारी दिन आग्रह गरेपछि डिटेलमा जानकारी दिनका लागि फरक व्यवस्था गर्न लागिएको बताएका थिए । तर सरकारले औपचारिक रुपमा निर्णय सार्वजनिक नगरेपनि निर्णयहरु भने सार्वजनिक भएको छ । आईतबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णयहरु यस्ता रहेका छन्ः प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् । भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुन् । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई फिर्ता बोलाउने निर्णय । भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन् । मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डे र युएईका लागि नेपाली राजदूतमा कृष्ण ढकाल सिफारिस भएका छन् । पाण्डे यसअघि साउदी अरबका राजदूत थिए भने ढकाल परराष्ट्र मन्त्रालयकै सह–सचिव हुन् । नेपाल प्रहरीमा प्राविधिक तर्फबाट दुर्गा थापालाई एआइजी नियुक्त गर्ने निर्णय पनि गरेको छ। जेनेभास्थित विश्व व्यापार संगठन (डब्लुटिओ) का लागि नेपाली प्रतिनिधिमा दिपक धितालको समयावधि थप्ने निर्णय गरेको छ । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी ९नेकपा०का नेता राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त भएका छन् । भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार थिए । पूर्वसांसद समेत रहेका उनी नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) का सदस्य समेत हुन् ।
काठमाडौं । कोरोनाको प्रभाव बढ्दै गएपछि सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रकोप अन्य देशमा समेत फैलिएपछि मन्त्रिपरिषद्को बैठकले जोखिम बढेको निष्कर्ष निकाल्दै भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो।
शनिबार मात्र पर्यटन मन्त्रालयले भ्रमण वर्ष लक्षित विदेशमा आयोजना हुने सबै कार्यक्रम रद्द गर्ने निर्णय गरेको थियो। चीनबाट शुरु भएको कोरोना भाइरस अहिले कोरिया, इरान हुँदै अन्यत्र समेत देखिन थालेको छ। अमेरिकामा समेत यही भाइरसका कारण एक व्यक्तिको मृत्यु भएको छ।
चालू आवमा मात्र सरकारले भिजिट नेपालका विभिन्न कार्यक्रममा ६७ करोड बढी रकम विनियोजन गरेको थियो। भिजिट नेपालको उद्घाटनमा मात्र ५ करोडभन्दा बढी रकम खर्च भएको थियो।
पूर्वाधारलगायतका विषयमा पर्याप्त तयारी नभएको भन्दै निजी क्षेत्रले भिजिट नेपाल केही वर्ष सार्न सुझाव दिँदादिँदै सरकारको एकतर्फी जोडका कारण भिजिट नेपाल सुरु भएको थियो। यसकारण विवादित बन्दै गएको भिजिट नेपाल अन्ततः कोरोना भाइरसको विश्वव्यापी असरका कारण स्थगित भएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।