काठमाडौं । प्रमुख प्रतिपक्षी दलका सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा पूर्व सञ्चारमन्त्रीले राजीनामा दिएको हप्तादिन बित्दा पनि छानबिन सुरु नहुनु गम्भीर विषयमा भएको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै देउवाले पूर्व मन्त्री बाँस्कोटामाथि छानबिन सुरु नहुनुको पछाडि गम्भीर नियत लुकेको बताए । उनले अडियोमा ‘हामी’ भनेर कसलाई भनिएको हो रु भन्ने विषयमा प्रधानमन्त्रीले प्रष्ट पार्नुपर्ने बताए । छानबिन सुरु नहुँदै प्रधानमन्त्रीले अडियो नक्कली हो भन्दै अभिव्यक्ति दिएपछि छानबिन प्रभावित हुन्छ की हुँदैन भन्दै उनले प्रश्न समेत गरे ।
सभापति देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणको अनियमितताबाट ध्यान अन्त मोड्न सरकारले नेपाल ट्रष्टको स्वेतपत्र ल्याएको आरोप समेत लगाए ।
उनले नेपाल ट्रष्टको स्वेतपत्रमा उल्लेख भएजस्तो आफू प्रधानमन्त्री भएको समयमा कुनै निर्णय नभएको प्रष्टीकरण दिए । राजनीतिक पूर्वाग्रहका कारण आफ्नो नाम जोडिएको उल्लेख गर्दै उनले स्वेतपत्रप्रति आपत्ति जनाए ।
उनले सरकारले पेट्रोलियम पदार्थमा करले जनतालाई भार बढेको भन्दै तत्काल कर हटाउन आग्रह गरे । सभापति देउवाले कोरोना भाइरस विश्वका ५० भन्दा बढी देशमा फैलिएको उल्लेख गर्दै आवश्यक पूर्व तयारी गर्न सरकारको ध्यानाकर्षण पनि गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















