तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६, ठूलोपर्सेल, छापमा कोन्ज्योसोम म्हाणिपा छोग्पाको भवन निर्माण हुने भएको छ । तेमाल गाउँपालिका अध्यक्ष सलाम सिं तामाङ र उपाध्यक्ष दुर्गामाया तामाङले आईतबार संयुक्त रुपमा शिलान्यास गरेपछि भवन निर्माण हुने पक्का भएको हो ।
तेमाल गाउँपालिकाको आर्थिक वर्ष २०७६।०७७ को स्वीकृत बजेट अनुदानको सहयोगमा कोन्ज्योसोम म्हाणिपा भवन (ढाजाङ) निर्माण हुन लागेको हो । कुन्छाङ देक्षिण लिङ गुम्बाका प्रमुख लामा सार्कीमान लामाले विशेष लामा विधि अनुसार सा–बुम्बा, याङ–बुम्बा प्रतिस्थापन गराई शिलान्यास गरिएको थियो ।

गाउँपालिका अध्यक्ष तामाङले भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै म्हाणिपा छोग्पा भवन निर्माण गर्दा भवन निर्माण मापदण्ड अनुसार गर्नुहुन र सबैलाई समन्वय गराई सहयोग लिई प्राविधिक स्टमेट अनुसार निर्माण गर्न अनुरोध गरे । साथै भवन निर्माण गर्न सबै एकजुट भएर लाग्नुेपर्नेमा तामाङले जोड दिए ।
कार्यक्रममा उपाध्यक्ष दुर्गामाया तामाङले मोलाम पाठ गर्ने म्हाणिपा आमाबुबाहरुलाई लक्षित गर्दै यो मोलाम सिक्ने सिकाउने तेमाल भरि लागु गर्दै जाने बताए ।
म्हाणि मोलाम शिक्षा वडा नं. ६ छापको सुनदोर्जे तामाङ घिसिङ र ङेमा तामाङ घिसिङको आर्थिक सहयोग शुरुवात गरिएको थियो ।
बौद्ध धर्मोलम्बी महिलाहरु एकै ठाउँमा बसेर तेमालमा म्हाणिपा छोेग्पा (विशेष खालको मोलाम) गर्दै आए पनि भेला हुन भवन नहुँदा समस्यामा परेका थिए । अब भवन निर्माण भएपछि छापका म्हाणिपा समूहले यसै भवनमा भेला हुनेछन् । तेमाल गाउँपालिका भरि म्हाणिपा समूह धेरै रहेका छन् ।
भवन निर्माणका लागि गाउँपालिकाले ५ लाख बजेट विनियोजन गरिएको थियो । नपुग रकम चन्दा संकलन गरि निर्माण गरिने स्थानिय शिक्षक सञ्जय लामाले तेमाल अनलाईनलाई जानकारी दिए ।
कार्यक्रम कोञ्ज्योसोम म्हाणिपा छोग्पाका अध्यक्ष पञ्चमाया तामाङको अध्यक्षतामा भएको थियो । कार्यक्रममा इन्जीनियर लोना श्रेष्ठ, निर्माण समितिका अध्यक्ष प्रविण लामा, स्थानीयबासीको उपस्थिति रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















