डिलबहादुर थोकर (ग्याम्जो)/सुसन सापकोटा (विज्ञान)
चौंरीदेउराली । निर्वाचनको बेला भोटको लागि जनतासँग उम्मेदवारले धेरै वटा सपना बाँडेका हुन्छन् । हार्नेले पूरा गर्न नसक्नु त स्वभाविकै हो तर जित्नेले पनि जनतालाई दिएको वाचा भने विर्सिने गरेको उदाहरण पाईन्छ । तर काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतमले भने विर्सेका छैनन् ।
गौतमले निर्वाचनमा भोट माग्दै गर्दा चौंरीदेउराली गाउँपालिकामा जनतासँग ‘एक घर एक धारा’को व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए । जनतासँग गरेको बाचा नविर्सने अध्यक्ष गौतमले यस अघिको आर्थिक वर्षलाई ‘खानेपानीको वर्ष’को संज्ञा दिंदै ‘एक घर एक धारा’को योजना बनाएर बजेट समेत विनियोजन गरे ।

‘एक घर एक धारा’ निर्माण अभियान चौंरीदेउराली गाउँपालिकामा सार्थक बन्दै गएको छ । गाउँपालिका अध्यक्ष गौतमले ‘अबको डेढ वर्षमा सबै घरमा एक घर एक धारा पुर्याउने’ घोषणा गरेको करिब दश महिनाभित्रै ११ सय घरमा खानेपानीको धारा पुगेको छ ।
‘द्रुत गतिमा यो अभियान सञ्चालन भइरहेको छ । जनता माझ गरेको धेरै वटा वाचाहरु मध्यमा यो महत्वपूर्ण र दूरगामी खालको योजना छ ।’ गाउँपालिका अध्यक्ष गौतमले भने, ‘अब सफा र स्वच्छ खानेपानीको पहुँचमा सबै जनतालाई पुर्याउँछु ।’
चौरीदेउराली गाउँपालिका, वाटरएड र एकीकृत शहरी विकास केन्द्रले संयुक्त रुपमा यो अभियान सञ्चालन गर्दै आएको छ ।

हालसम्म कुन वडमा कति घरधुरी लाभन्वित ?
हालसम्म यो अभियान अन्तर्गत ५ वटा वडाका ११ सय घर धुरीमा खानेपानी सहितको धारा पुगेको छ ।
हालसम्म चौंरीदेउराली गाउँपालिका वडा ८ को ३ सय घर, वडा न .५ को २ सय घर, वडा न. ४ को १ सय घर, वडा न. ३ को १ सय ३० घर, वडा नं. २ सय ६० घर र वडा न. २ को १ सय १० घरमा खानेपानी पुगेको छ ।
‘हालसम्ममा ११ सय घरधुरीमा ‘एक घर एक धारा’ निर्माण अभियान सम्पन्न भइसकेको छ ।’ अध्यक्ष गौतमले तेमाल अनलाईनलाई बताए ।
एक घण्टा लगाएर खानेपानीको लागि धाउनुपर्ने बाध्यता सुनाउँदै वडा नं. ८ की रमला पन्तले अब त्यस्तो बाध्यता सधैंको लागि अन्त्य भएको बताईन् । ‘पहिला पानीको एकदमै दुःख थियो, पानी बोक्न करिब एक घण्टा तल झरेर पानी ल्याउनुपर्ने बाध्यता थियो ।’ पन्तले भनिन्, ‘अहिले घर घरमा धारा आएपछि समयको बचत भएको छ, पहिले सुख्खा हुने करेसाबारीमा अहिले तरकारी उत्पादन गरेर हरियाली बनाएका छौ ।’ अध्यक्ष गौतमको दूरगामी योजनाको कारण खानेपानीमा सहज हुँदै गाएको उनले बताईन् ।
त्यसैगरि वडा ५ का पोखरी डाडाटोलका सहदेव गौतमले एकघर एध धारा अभियानले आफ्नो आम्दानी बढेको बताए । ‘पहिला पानीको एकदम दुख थियो जब एक घर एक धाराको कार्यक्रम गाउँपालिका र वाटरएडले ल्यायो त्यसपछि मैले वार्षिक ३०।३५ हजार आम्दानी खेर गर्छु ।’ गौतमले भने, ‘पानीको सदुपयोग गरेर आफ्नै बारीमा काउली लगायत अन्य तरकारी खेती गरेर कमाइ गरिरा’छु ।
यसरी अगाडि बढ्दै छ योजना
केन्द्र सरकारद्वारा बृहत चौरीखोला ढोकेडाँडा लिफ्टिङ खानेपानी आयोजनाको काम भइरहेको र उक्त आयोजना अबको एक वर्ष भित्र सम्पन्न हुने अध्यक्ष गौतमले बताए । त्यस्तै वडा न.६ मा हाल चौरीखोला पाथिभरा लिफ्टिङ मार्फत करिब ७ सय घरधुरीमा एक घर एक धारा निर्माण गर्नका लागि केन्द्र सरकार, प्रदेश सरकार र गाउँपालिकाको साथै स्थानीय जनताहरु समेत लागि परेको गौतमले बताए ।

त्यसैगरि गाउँपालिकाको ‘एक घर एक धारा’ अभियान सफल गर्नको चालु आर्थिक वर्षमा विकास बजेटबाट ४ करोड ५० लाख रकम बिनियोजन गरेको थियो र उक्त बजेट कार्यान्वयनको चरण रहेको छ । भने वडा न. ५ को करिब ३ सय घरधुरीका लागि प्रदेश सांसद रत्न ढकाल र संघिय सांसद गंगाबहादुर दोङ (बमध्वज)ले ५० लाख रकम बिनियोजन गरेका छन् ।
वाटरएडको सुवास परियोजना सम्पन्न भएपनि वाटरएड नेपालले गाउँपालिकाको अभियानमा अझै सहयोग गर्नेमा आफू विश्वस्त रहेको अध्यक्ष गौतमले बताए । साथै आफुले घोषणा गरेको ‘एक घर एक धारा’ अभियान आर्थिक वर्ष २०७७।७८ मा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए ।
खानेपानीमा सबै जनताको पहुँच पुगेपछि कृषि क्षेत्रलाई आधुनिकरण, व्यवसायीकरण तिर लाने र जनतलाई आर्थिक समृद्धि तिर लाने तेमाल अनलाईनसँग उनले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















