काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले महिलाहरुको साहस, त्याग र बलिदानीले आज संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेको बताएका छन् । ११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात ८ मार्चको अवसरमा आज शुभकामना दिंदै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।
‘११० औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस अर्थात ८ मार्चको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ सन्देशमा भनिएको छ, ‘आज विश्वभरका महिला दिदीबहिनीहरु मात्र नभई मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन हो । महिलाहरुको हक र अधिकारका साथै आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक विकासका लागि आवाज बुलन्द गरिएको संघर्षको दिन हो ।’
महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायतका परिवर्तनका सबै आन्दोलनहरुमा नेपाली महिलाहरुले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको शुभकामना सन्देशमा उल्लेख छ ।
‘वर्तमान संविधानले महिलाहरुलाई धेरै हदसम्म अधिकार सम्पन्न बनाएकोमा खुसी व्यक्त गर्दै संवैधानिक, कानूनी र व्यवहारिकरुपमा प्राप्त अधिकारको पूर्ण कार्यान्वयन तथा थप अधिकारका लागि एक भएर लाग्ने सबैमा प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।’ सन्देशमा लेखिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।