सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–६ का ४२ वर्षका सीता रम्तेल आइतबार एकाबिहानै ग्वाङ्खोला किनारमा पुगिन्। र सधैँजस्तो रम्तेलको दैनिकी गिट्टी कुट्दै सुरु भयो। एकाएक खोला किनारमा सुकिला मानिसको एउटा समूह देखियो।
रम्तेलको छेउमा आएर त्यो समूहले दोसल्ला ओढायो र आज काम गर्नु पर्दैन भन्दै, एक दिनको ज्याला बराबर पैसा दिएर गयो। कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्री सहितको समूह आएर आज काम गर्नु पर्दैन भन्दै पैसा दिँदा रम्तेलको मुहार हँसिलो देखियो।‘खुसी लाग्यो । यसरी नै सधै सहयोग पाएबिहान बेलुकाको छाक टार्न सजिलो हुन्थ्यो। काम नगरी खान पाइन्‍न। भात खानु परिहाल्यो यसो गिट्टी कुट्यो खायो’ उनले भनिन्।
रम्तेलको श्रीमानसहित तीन छोरीहरुले गुजरा यस्तै गिट्टी कुट्दै चलाउछन्। दिनभरी गिट्टी कुटे मात्रै बेलुका चुल्हो बल्छ।
नगरप्रमुख खत्रीसहितको समूह आएर आज काम गर्नु पर्दैन भन्दै पैसा दिंदा रङ्गमाया भुजेलको मुहार पनि हँसिलो देखियो। ‘नगरपालिकाले गरेको सहयोग ठीक लाग्यो मलाई त। बढी मान्छेलाई यसरी सहयोग गर्नुभयो खुसी लाग्या छ मलाई त। गिट्टी कुटेर के जिन्दगी चल्नु दुःख ले चलाई रहेको छु ’उनले सुनाइन्।
अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विभिन्न कार्यक्रम भइरहँदा सिन्धुलीको कमलामाई नगरपालिकाले गिट्टी कुटेर जीवन गुजारा चलाइरहेका महिलालाई सम्मान गरेको हो।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नगरपालिकाले ग्वाङ्खोला र लब्दाह खोलाको किनारमा बसेर गिट्टी कुट्दै गुजरा चलाउने ६५ जना महिला श्रमिकलाई एक हजार नगद दिएर दोसल्ला ओढाउँदै सम्मान गरेको नगरप्रमुख खत्रीले बताए।
‘दिवसमा नगरपालिकाले देखिने काम गर्यो त भन्दा देखिने काम त हुनुपर्यो नि त्यही भएर महिला श्रमिककै दिवसमा गिट्टीको थुप्रा माथि बसेर गिट्टी कुट्दै गुजरा चलाउन बाध्य भएकाहरूले आज एक दिन आराम गर्नका लागि सम्मानस्वरूप एक हजार रुपैयाँ दिएर सम्मान गरेका हौँ। मजदुर, गरिव, सर्वहारा वर्गको पक्षमा के काम गर्न सकिन्छ भनेर हामी लागेका छौँ। त्यही अभियानअन्तर्गत यो सहयोग गरेका हौँ’ उनले भने।
नगरपालिकाबाट सम्मानित हुन पाएका श्रमिक महिला आज फुर्सदिला भए। काम नगरी पैसा पनि पाए, अरु दिन काम पनि पाईयोस्, पैसा पनि पाईयोस् र जीवन शैली फेरियोस् भन्ने उनीहरूको चाहना छ।
कोरोना भाइरस्का कारण अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सभा, सम्मेलन लगायतका कुनै पनि कार्यक्रम नगर्ने निर्णय गरेको नगरपालिकाले वास्तविक महिला श्रमिकलाई सम्मान गरेरको हो। ‘समानताको पुस्ता स् अन्त्य गरौँ, हिंसा, विभेद र असमानता’ भन्ने नाराका साथ ’अन्तर्राष्ट्रिय महिला दिवस’ मनाइएको छ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।