खगेन्द्र हमाल
रुकुम । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको विकासमा विचौलिया हाबी भएको बताएका छन् । विकासका लागि दिइने सम्पुर्ण बजेट, माग गरिने योजनामा स्वार्थ्सिद्धिका लागि लाग्नेहरु घुसेका कारण कर्णालीका जनताले चाहे अनुसारको विकास हुन नसकेको मुख्यमन्त्री शाहीले बताएका छन् ।
‘विकास र समृद्धिको बाधक भनेको योजना माग्ने र दिनेहरु नै हुन् । योजना माग्नेले कुनै प्लान र स्टिमेट मागेको छ ।’ रुकुम पश्चिमको जिल्ला सभा तथा समीक्षा गोष्ठीको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले भने ‘बजेट र योजना दिनेले पनि त्यतापट्टि विशेष ध्यान नदिएर योजना हाल्ने गरेकै कारण बिकासमा प्रमुख समस्या देखिएको छ ।’
योजना र बजेट दिने तर दिईसकेपछि प्रभावकारी अनुगमन नहुँदा पनि समस्या भएको मुख्यमन्त्री शाहीले बताए । योजना र बजेट मागिएको ठाउँको अनुगमन गर्दा कतै योजना नै नभएको कतै थोरै मात्रै काम गरेर अलपत्र छाडिएको पाइएको उनको भनाइ छ । ‘कतै कम लगानीमा बन्नुपर्ने योजनमा पनि धेरै बजेट माग गर्ने र दिने गरेको समेत पाइएको छ ।’ मुख्यमन्त्री शाहीले भने, ‘यसरी चुस्त अनुगमनका कारण नै समग्र कर्णालीको बिकासमा ढिला सुस्ती भएको हो ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















