काभ्रे । जिल्लाको मण्डनदेउपुर नगरपालिकाको नगर कार्यपालिका बैठक मंगलबार सम्पन्न भएको छ । नगर प्रमुख टोकबहादुर वाईबाको अध्यक्षतामा बसेको बैठकले शिक्षा लगायत विभिन्न विषयमा निर्णय गरेकोे प्रवक्ता डिल्ली प्रसाद आचार्यले जानकारी दिएको छ ।
बैठकले विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेका विद्यालयलाई चैत्र ५ गतेभित्र समिति गठन गरिसक्न निर्देशन दिने निर्णय गरेको छ ।
समिति बन्न बाँकी रहेका विद्यालयहरुमा वडा नं २ को बालुवा माध्यमिक विद्यालय, ४ को महाकाली माध्यमिक विद्यालय विद्यालय, वडा नं. ५ को तपेश्वर माध्यमिक विद्यालय विद्यालय र वडा नं. १० को विन्धबासिनी माध्यमिक विद्यालय रहेका छन् । तोकिएको मिति भित्र समिति नबाए नगरपालिकाले नै समिति तोकेर पठाउने निर्णय बैठकले गरेको नगरपालिकाका प्रवक्ता आचार्यले बताए । विद्यालय ब्यवस्थापन समिति पुर्नगठन नहुँदा विद्यालयको ब्यवस्थापकीय काममा समस्या आएकोले य स्तो निर्णय गरेको आचार्यले बताए ।
त्यस्तै नगरपालिकाभित्रका सबै विद्यालयमा तहगत प्रधानाध्यापक पठाउने पनि बैठकले निर्णय गरेको छ ।
यसैबीच कोरोना भाइरसबाट बच्ने उपायका बारे विद्यालय तहबाट चेतना मुलक कार्यक्रम सुरुवात गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता आचार्यले बताए ।
शिक्षकहरुलाई मासिक तलब भुक्तानीको ब्यवस्था देखि टकिङ टिचरको समेत ब्यवस्था गरिएको छ । नयाँ शिक्षण सिकाईका बारे समेत नगरपालिकाले नगरभित्रका सबै प्रधानाध्यपकहरुलाई भेला गरेर विज्ञ टोलीसँग अन्तरक्रिया, छलफल जस्ता कार्यक्रम गर्दै आइरहेको छ ।
मण्डनदेउपुर नगरपालिकाभित्र बाल विकास केन्द्र, आधारभूत र माध्यमिक विद्यालय गरी ४० वटा विद्यालय रहेका छन् । नगरपालिकाले सबै सामुदायिक विद्यालयका बालबालिकालाई एउटै पोसाकको समेत ब्यवस्था गरेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















