काठमाडौँ । पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लब समूह) ले बम विष्फोट गराएको पुष्टि भएको छ । विप्लब समूहले बाँस्कोटालाई भ्रष्टाचारी घोषणा गर्दै ‘कारबाही’ गरेको जनाएको छ ।
घटनास्थलमा विप्लब समूहद्वारा एक पर्चा समेत जारी गरेको छ । ‘भ्रष्टाचारी गोकुल बास्कोटामाथि कारबाही किन ?’ शीर्षकमा जारी पर्चामा पर्चामा समूहले बाँस्कोटालाई १० वटा आरोप लगाएको छ ।
पर्चामा बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेको, २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेको, १९ अर्बको फोर–जी सेवा विस्तारका क्रममा करोडौँ रकम दुरुपयोग गरेको, १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भूमिका निर्वाह गरेको, मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवासुविधाका नाममा करोडौँ हिनामिना गरेको, सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेको, नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेको, राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएको, आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएको, देशलाई अहिलेको जर्जर र संकटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक पात्र भएकोल गायत १० वटा आरोप लगाएको छ ।
यस्तो छ पर्चाः
भ्रष्टाचारी गोकुल बाँस्कोटामाथि कारबाही किन ?
१. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।
२. २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।
३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।
४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।
५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ हिनामिना गरेकाले ।
६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।
७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।
८. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।
९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।
१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।
-नेपाल कम्युनिस्ट पार्टी

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















