धुलिखेल । काभ्रेमा दादुरा–रुबेला खोप अभियान २०७६।७७ दुईचरणमा सम्पन्न गर्ने भएको छ । विहिबार जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेले पत्रकार सम्मेलन मार्फत उक्त जानकारी दिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा. नरेन्द्रकुमार झाका अनुसार पहिलो चरणको खोप अभियान चैत २ देखि १० गतेसम्म सञ्चालन हुनेछ भने दोस्रो चरणको खोप कार्यक्रम चैत १४ देखि २२ गतेसम्म चल्ने छ ।
‘पहिलो चरणको अभियान भुम्लु, चौरीदेउराली, तेमाल, रोशी गाउँपालिका र मण्डनदेउपुर, धुलिखेल, पाँचखाल र नमोबुद्ध नगरपालिकामा सञ्चालन हुने छ ।’ प्रमुख डा. झाले भने, ‘ बनेपा र पनौती नगरपालिका, बेथानचोक, खानीखोला र महाभारत गाउँपालिकामा सञ्चालन हुनेछ ।’
जिल्ला तथा पालिकाको ३ वर्षको प्रगति अवस्था (पहिलो)

दुबै चरणमा गरी जिल्लाका ३१ हजार ७ सय ९२ जना बालबालिकाले खोप लगाउने छन् । जिल्लाको ९ सय ६२ वटा खोप केन्द्र मार्फत खोप लगाउन सकिने झाले जानकारी दिए । खोप अभियानमा १ हजार ९ सय २४ जना स्वयंम सेवक र १ हजार ८७ जना खोप कार्यकर्ता परिचालन हुनेछन् ।
जिल्ला तथा पालिकाको ३ वर्षको प्रगति अवस्था (दोस्रो)

जिल्ला स्वास्थ्य कार्यालयले पहिलो चरणका लागि खोप तथा कोल्डचेनको आपुुर्ति र वितरण सुरु गरिरहेको छ भने दोस्रो चरणका लागि चैत १० गतेदेखि सुरु हुनेछ । जिल्लामा अझै २४ प्रतिशत बालबालिकाले ९ महिनामा लगाउने दादुरा–रुबेला खोप नलगाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर झाले बताए ।
९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाका अभिभावकलाई पालिकाका प्रमुख वा स्वास्थ्य संस्था प्रमुखले निमन्त्रणा पत्र पठाइने छन् । वडाध्यक्षले आफ्नो वडामा कुनै पनि बालबालिका दादुरा–रुबेलाको खोपबाट बञ्जित नभएको सुनिश्चितता गर्नुपर्नेछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















