दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरी शुक्रबार डिस्चार्ज भएका प्रधानमन्त्री केपी शर्मा ओलीले ‘केयर रुम’मा राजनीतिक भेटघाट र परामर्श सुरु गरेका छन् । शनिबार प्रधानमन्त्री ओलीले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् । लगत्तै, प्रधानमन्त्री ओलीले पार्टी महासचिव विष्णु पौडेल र आफ्नो सचिवालयका सदस्यसँग पनि छलफल गरेका छन् । प्रधानमन्त्रीले शनिबार राति उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई पनि भेटेका छन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ ।
मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा अस्पताल भर्ना भएका प्रधानमन्त्री ओली १२ दिनपछि शुक्रबार डिस्चार्ज भएका थिए । उपचारमा रहेकाले सरकार र पार्टीले लिनुपर्ने केही महत्वपूर्ण निर्णयसमेत रोकिएका वेला डिस्चार्जलगत्तै प्रधानमन्त्रीले भेटघाट र परामर्श सुरु गरेका हुन् ।उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा पठाउने पार्टी सचिवालयको निर्णयलाई प्रधानमन्त्री ओलीले चुनौती दिएपछि नेकपाका शीर्ष नेताबीचको अन्तरविरोध सतहमा आएको छ । डिस्चार्जपछि प्रधानमन्त्री ओलीले थालेको भेटघाटले गौतमको विषय कसरी सुल्झाउँछन् भन्ने चासो बढाएको छ ।
शनिबार प्रधानमन्त्री ओलीसँगको भेटमा अध्यक्ष प्रचण्डले पनि राजनीतिक विषयमा कुराकानी गरेको संकेत गरेका छन् । प्रचण्डको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीसँगको भेटमा स्वास्थ्य अवस्थाबाहेक समसामयिक राजनीतिक गतिविधिबारे पनि छलफल भएको छ । प्रधानमन्त्री ओलीसँगको भेटपछि प्रचण्डको सचिवालयले भन्यो, ‘प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्षको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभयो र मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएकामा बधाई दिनुभयो । प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । उहाँले समसामयिक राजनीतिक गतिविधिबारे पनि प्रधानमन्त्री ओलीलाई जानकारी गराउनुभएको थियो ।’
यसैगरी, वरिष्ठ नेता नेपालसँगको भेटमा पनि राजनीतिक विषयवस्तुमा संवाद भएको छ । नेपालसँग भेटमा प्रधानमन्त्री ओलीले आवश्यक सतर्कतासहित सम्भावित कोरोना संक्रमितहरूको उपचारका लागि सय बेडसम्मको छुट्टै नयाँ अस्पताल बनाउनेदेखि सरकारी र निजी अस्पतालहरूको परिचालनमा केन्द्रित रहेर छलफल गरेका छन् । ‘उहाँ ९माधव नेपाल०ले स्वास्थ्यलाभको शुभकामना दिएपछि प्रधानमन्त्रीले कोरोना भाइरसको जोखिम र राजनीतिक विषयको कुराकानीमा रुचि राखेका कारण केहीबेर त्यसमा छलफल भएको हो,’ नेपाललाई उद्धृत गर्दै उनीनिकट एक नेताले नयाँ पत्रिकासँग भने, ‘माधव कमरेडले अहिले स्वास्थ्यको ख्याल गर्नुस्, असर पर्ने गरी धेरै कुरा गर्नुहुन्न भनेर ध्यानाकर्षण गराउँदा पनि रोकिनुभएन, त्यसैले ती विषयमा उहाँहरूबीच छलफल भयो ।’
प्रचण्ड र नेपालसँगको भेटपछि शनिबार साँझ प्रधानमन्त्री ओलीले पार्टी महासचिव विष्णु पौडेल, मुख्य सल्लाहकार विष्णु रिमाल, वैदेशिक मामिला सल्लाहकार डा। राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापासँग करिब आधा घन्टा संयुक्त भेट गरेका थिए । ‘मुलुकका पछिल्ला घटना क्रमका समग्र विषयमा प्रधानमन्त्रीज्यूले चासो राख्नुभएको थियो,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘महासचिवसहित हामीले उहा“लाई पछिल्ला समग्र विषयवस्तुबारे जानकारी गरायौँ ।’
चिकित्सकहरूको सुझाबअनुसार प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्य अवस्थालाई ख्याल गर्दै धपेडी नहुने गरी नै शनिबार भेटघाट र कुराकानी भएको पनि थापाले जानकारी दिए । वैदेशिक मामिला सल्लाहकार डा। भट्टराईले पनि पुरानै दैनिकीमा फर्किने प्रयासअनुसार प्रधानमन्त्रीले चिकित्सकहरूको निगरानी र सुझाबअनुसारै भेटघाट र छलफल सुरु गरेको बताए । ‘चिकित्सकहरूको निगरानी र सुझाबअनुसार उहाँले पुरानै दैनिकीमा फर्किने प्रयास सुरु गर्नुभएको छ,’ उनले भने, ‘चिकित्सकहरूकै निगरानी र परामर्शमा उहाँले यो क्रमलाई बिस्तारैबिस्तारै बढाउँदै लानुहुनेछ, हामीले पनि उहाँलाई यसअघि हुने नियमित रिपोर्टिङ गरेका हौँ ।’
प्रधानमन्त्रीले नियमित दैनिकीमा फर्किने प्रयास थालेसँगै थाती निर्णय कार्यान्वयनबारे चासो सुरु भएको छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणअघि १४ फागुनमा बसेको नेकपा सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनयन हुने राष्ट्रिय सभा सदस्यमा उपाध्यक्ष गौतमलाई पठाउने निर्णयदेखि केन्द्रीय कमिटीका कतिपय निर्णय कार्यान्वयन हुन सकेका छैनन् । गौतमलाई पठाउनेबारे सचिवालयले सर्वसम्मत निर्णय गरे पनि १८ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकबाट कार्यान्वयन नगरी प्रधानमन्त्री ओली अस्पताल भर्ना भएका थिए । गौतमको निर्णय तत्काल कार्यान्वयनका पक्षमा अध्यक्ष प्रचण्डसँगै वरिष्ठ नेता झलनाथ खनाल र नेपालसहित बहुमत नेताहरू एकातिर रहे पनि प्रधानमन्त्रीको पछिल्लो स्वास्थ्यलाई ख्याल गर्दै उनीहरू मौन रहँदै आएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















