काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकको अभिभावक सरकार भएकाले कुनै पनि नेपालीमा कोरोनाको संक्रमण देखिएमा त्यसको उपचारको व्यवस्था सरकारले गर्नै बताएका छन् ।
कोरोना संक्रमण देखिएकाहरूलाई सरकारले सुरक्षा दिने विषयमा दिएको अभिव्यक्तिको रक्षा गर्दै आफूले बताएको कुरालाई पत्रकारले समाचार लेख्दा अर्कै लेखिदिएको गुनासो पनि उनले गरेका छन् ।
आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले केही दिनअघि एक कार्यक्रममा आफूले जनता आफैँले कोरोनाको संक्रमणबाट बच्न सचेत हुन आग्रह गरेको, तर त्यसलाई बङ्ग्याएर प्रस्तुत गरिएको दावी गरे ।
‘कोरोना संक्रमणबारे सरकारका तर्फबाट मैले आम रुपमा अपिल गरेको हो। कोरोना संक्रमितलाई सरकारले हेर्दैन भनेको होइन,’ उनले भने, ‘सरकार अभिभावक हो सबैको सुरक्षा गर्छ ।ु
चीनको वुहानबाट १ सय ७५ जनालाई सरकारले नै नेपाल ल्याएको र १४ दिन खरिपाटी क्वारेन्टाइनमा राख्दा सबै व्यवस्था सरकारले नै गरेको उनको भनाइ छ । ‘राष्ट्रिय युवा संघको साथीहरू ध्यानाकर्षणका लागि ८ बुँदे पत्र बोकेर आउँदा मैले त्यसो भनेको थिए, समाचारको शीर्षकमा मात्रै त्यस्तो छ, भित्रको समाचार अर्कै छ,’ उनले भने, ‘ भनेको कुरा युट्युबमा सुरक्षित छ। त्यो हेर्नुभयो भने बुझ्नु हुनेछ।’’
कोरोना चीनमा देखिँदा वुहानसम्म गएर नागरिक ल्याएको र अहिले चाहिँ यो विश्वव्यापी महामारी भएकाले खुला नाकाबाट पनि आउन सक्ने भएकाले यसको नियन्त्रणमा जनता नै सचेत हुनुपर्ने उनी बताउँछन्।
‘उपचार गर्नुपर्ने सरकार अभिभावक हो हामी उपचार गर्छौं,’ मन्त्री ढकालले भने, ‘यसको कुनै टुङ्गो छैन। काठमाडौंमा तयारी गरौंला, बाहिर बढी प्रभाव पार्ला, अरुतिर तयारी गर्दा काठमाडौंमा देखिन पनि सक्छ। सबैतिरको तयारीमा हामीले काम गरिरहेका छौं। त्यसैले कोरोनाको लक्षण देखियो भने परिवारले पनि केही सजगता अपनाउन आग्रह गर्छु।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।