तेमाल । संसारभरि कोरोना भाइरस संक्रमण भइरहेको बेला काभ्रेको तेमाल गाउँपालिकाले कोरोना भाइरस विपद व्यवस्थापन गर्ने निर्णय गरेको छ । आज (आईतबार) बसेको गाउँकार्यपालिकाको ३४ औं बैठकले यस्तो निर्णय गरेको हो ।
बैठक पछि तेमाल गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ७ का वडा अध्यक्ष ज्ञानबहादुर तामाङले दिएको जानकारी अनुसार बैठकले कोरोना भाइरस विपद व्यवस्थापन समिति समेत गठन गरेको छ । ‘आजको कार्यपालिकाको बैठकले गाउँपालिका अध्यक्ष सलामसिं तामाङको संयोजकत्वमा कोरोना भाइरस विपद व्यवस्थापन समिति गगठन गरेको छ ।’ प्रवक्ता तामाङ भने, ‘समितिमा सह–संयोजक उपाध्यक्ष दुर्गामाया तामाङ, सदस्यहरु सबै वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, सबै स्वास्थ्य चौंकी इन्चार्ज, स्वास्थ्य शाखा संयोजक सदस्य सचिव रहनेछ ।
परिक्षा केन्द्रमा हेल्थ डेस्क
आगामी चैत्र ६ गतेदेखि सञ्चालन हुने एसईई परिक्षा केन्द्रमा गाउँपालिकाले हेल्थ डेस्क स्थापना गर्ने भएको छ । ‘बैठकले तेमाल गाउँपालिका वडा नं. ६ मा रहेको एस.ई.ई. परिक्षा केन्द्र श्री पञ्चकन्या माविमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय पनि गरेको छ ।’
स्वास्थ्यकर्मीहरुलाई बैकल्पिक व्यवस्था पछि मात्र विदा
कोरोना भाइरस रोकथाम र व्यवस्थापनको लागि भन्दै तेमाल गाउँकार्यपालिकाको बैठकले स्वास्थ्यकर्मीहरुलाई बैकल्पिक व्यवस्था पछि मात्र विदा दिने निर्णय गरेको छ । ‘तेमाल गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई किरिया विदा र सुत्केरी विदा बाहेक अन्य विदा स्वीकृत गर्नुपर्ने भएमा वैकल्पिक व्यवस्था मिलाएर मात्र स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।’ प्रवक्ता तामाङले तेमाल अनलाईनलाई भने, ‘हामी जनताको स्वास्थ्यमा गम्भिर छौं । गाउँपालिका भरि नै जनचेतना जगाउने अभियानमा हामी जुटेका छौं ।’
कोरोना भाइरस रोकथामको लागि तयारी
कोरोना भाइरस रोकथामको लागि तेमाल गाउँपालिकाले विभिन्न कृयाकलापहरु गर्ने भएको छ । ‘अब हामीले स्वास्थ्यकर्मीहरुलाई आवश्यक तालिमको व्यवस्था मिलाउनुको साथै पर्याप्त मात्रामा औषधीको समेत व्यवस्था मिलाउने छौं ।’ बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता तामाङले भने, ‘वडाहरुमा कोरोनासँग सम्बन्धित जनचेतना मूलक कार्यक्रमरु सञ्चालन गर्ने, कोरोनासँग सम्बन्धित पोष्टर, पम्प्लेट तयार गरि सार्वजनिक स्थानमा टाँस गर्ने र गराउने छौं ।’
वडामा पनि समिति गठन
कोरोना भाइरस सम्बन्धि जनचेतना जगाउन तेमाल गाउँपालिकाले वडा स्तरमा समेत कोरोना भाइरस विपद व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको छ । ‘जनचेतना जगाउन प्रत्येक वडामा पनि वडा स्तरीय कोरोना भाइरस विपद व्यवस्थापन समिति गर्ने निर्णय गरेको छ ।’ प्रवक्ता तामाङले भने, ‘वडा अध्यक्षको संयोजकत्वमा सबै वडा सदस्हरुसदस्य, स्वास्थ्य चौकी प्रमुख सदस्य सचिव रहने गरि गठन गर्ने निर्णय गरेको छ ।
भेलामा रोक
मानिसहरुको जमकटले कोरोना भाइरस संक्रमणको लागि सहज वातावरण सिर्जना हुने भएकोले तेमाल गाउँपालिकाले पनि विभिन्न प्रकारको भेलालाई रोक लगाएको छ । प्रवक्ता तामाङका अनुसार अब गाउँपालिकामा ठूलो सभा, सम्मेलन, भोज, भतेर जस्ता कार्यक्रमहरु नगर्ने र नगराउने भएको छ ।
त्यसैगरि बैठकले कोरोना महामारी लगायत अन्य स्वास्थ्य सम्बन्धी जानकारी स्वास्थ्य संयोजक मार्फत मात्र संप्रेशन गर्ने निर्णया गरेको छ । कोरोना भाइरस रोग सम्बन्धि सामग्री खरिदको प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको प्रवक्ता तामाङले जानकारी दिए ।
देशकै पहिलो गाउँपालिका
देशै भरिको स्थानीय तह मध्य तेमाल गाउँपालिका कोरोना भाइरस सम्बन्धि यस्तो निर्णय गर्नेमा पहिलो भएको छ । संसारभरि फैलिरहेको र नेपाललाई उच्च जोखिमको रुपमा संयुक्त राष्ट्र संघले राखिसकेको यो अवस्थामा जनताको स्वास्थ्य प्रति गम्भिर भएर यस्तो निर्णय गरेको प्रवक्ता तामाङले तेमाल अनलाईनलाई बताए ।
‘हामी जनताको स्वास्थ्य प्रति संवेदनशील छौं । संविधानले स्वास्थ्यलाई मौलिक अधिकारको रुपमा व्यवस्था गरेको छ ।’ उनले भने, ‘जनतालाई यो अधिकारको प्रत्याभूति गराउनु हाम्रो कर्तव्य भित्र पर्छ । त्यसैले बैठकको मुख्य र एउटै मात्र प्रस्ताब नै कोरोना भाइरस विपद व्यवस्थापनलाई बनाएका हौं ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















