पाँचखाल । प्रजातन्त्र सेनानी एवं राजनैतिक परिवर्तनका अभियन्ता स्व. रत्नप्रसाद लामिछानेको निधन भएको १३ औं दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा गरिएको छ । श्रद्धाञ्जली सभा रत्नप्रसाद लामिछाने प्रतिष्ठानले पाँचखालमा आयोजना गरिएको हो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले निरङ्कुश, सामाजिक कुप्रथा, राणा शासनको अन्त्यको लागि लागेका स्व. लामिछाने निष्ठा विचारको राजनीतिमा अग्रभागमा रहेको बताए ।
त्यसैगरि नेपाली काँग्रेसका जिल्ला सभापति मधुप्रसाद आचार्यले निष्ठा, मुल्यको यात्रामा हिड्नुहुने स्व. लामिछाने धेरैको प्रेरणा भएको बताउँदै उनले देखाएको बाटोको यात्रीको रुपमा अगाडी बढ्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसका नेता तथा स्व. लामिछानेका सहपाठी इन्द्रमणी अधिकारीले स्व. लामिछाने अधिकार कसरी बचाउने, मान्छे मान्छे भएर हिड्न सिकाउने एक योद्धा रहेको बताए । नेपाली काँग्रेस काभ्रेका उपसभापति अच्युत पौडेलले आफुलाई स्व. लामिछानेले राजनैतिक यात्रामा धेरै कुरा सिकाएको बताए ।
पाँचखाल नगरका उपप्रमुख लक्ष्मी दनुवारले सधै राम्रो काम गर्न झकझकाउनुहुने लामिछाने जहिल्यै जनताको काममा लाग्नुपर्छ भनेर प्रेरणा दिने नेता भएको बताए । पाँचखाल नगरका प्रवक्ता संञ्जय तामाङले प्रतिष्ठान सञ्चालनको लागि भन्दै १० हजार सहयोग गरेका थिए ।
कार्यक्रममा राजनैतिक विश्लेशक नरेन्द्र जंग पिटर, पाँचखाल नगरका प्रमुख प्रशाशकीय अधिकृत लोकबहादुर भण्डारी, समाजसेवी रबिन्द्र शिपखान, शिक्षासेवी रामशरण लुईटेल, पूर्व गृहसचिव जनार्दन नेपाल, प्रतिष्ठानका सचिव ओम प्रकाश लामिछाने, डा. भरत लामिछाने लगायतले स्व. लामिछानेले पुर्याउनु भएको योगदान बारे चर्चा गरेका थिए ।
सावित्रि लामिछानेले सञ्चालन गरेका कार्यक्रममा अप्सरा ढुंगानाले लामिछाने सँग सम्बन्धित कविता बाचन गरेकी थिइन् । कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष नन्दप्रसाद लामिछानेले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















