धुलिखेल । जिल्ला प्रशासन कार्यालय, काभ्रेद्वारा पनौतीमा लगाइएको कर्फ्यु राती ८ बजेबाट हटाउने भएको छ । आज (मंगलबार) जिल्ला प्रहरी कार्यायलय, काभ्रेमा बसेको सर्वपक्षिय बैठकमा पिडित पक्ष सहमति आएसँगै कर्फ्यु हटाउने निर्णय भएको हो ।
सोमबार खानीखोला गाउँपालिकाको वडा नम्बर १मा रहेको कालिका प्राथमिक विद्यालय हातिडाँडाका प्रधानाध्यापक जुनिमाया गोले र उनकी ३ बर्षिया छोरी स्मारिका तामाङको टिपरको ठक्करबाट मृत्यु भएपछि स्थानीयले प्रदर्शन गरेको थियो । पनौतीमा तनाबग्रस्त भएपछि विहान ९ बजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरिएको थियो ।
छलफलमा संघीय सांसद गंगा बहादुर दोङ (बमध्वज), पनौती नगरपालिका प्रमुख भिमप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना सहित मृतक पक्षको आफन्त छलफलमा बसेका थिए । छलफलमा मृतकका आफन्तले क्षतिपुर्ती नलिने, चालकलाई हदैसम्मको कानुनी कारबाही गर्ने र मृतक गोलेकी श्रीमान विदेशबाट आएपछि मात्रै दाहासंस्कार गर्ने सहमति भएको बुझिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।