काठमाडौं । सरकारले अन्तिम समयमा आएर एसईई परीक्षा रोक्ने निर्णय गरेको छ। बिहीबारदेखि हुन लागेको एसईई परीक्षा अर्को निर्णय नहुन्जेलसम्मका लागि रोक्ने निर्णय गरिएको हो।
कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको दोस्रो बैठकले यस्तो निर्णय गरेको जानकारी समितिका संयोजक तथा उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले थाहाखबरलाई जानकारी दिए।
‘परिस्थितिको गम्भीरतालाई विश्लेषण गरेर एसईईसहितका परीक्षाका पूर्वनिर्धारित कार्यक्रम रोक्ने निर्णय भएको हो’ उनले भने।
तर पहिलो बैठकको १२ औँ नम्बर निर्णयमा भने समितिले आवश्यक प्रबन्धसहित एसईई परीक्षण सञ्चालन गर्ने निर्णय गरेको थियो। पहिलो बैठकपछि सम्भावित जोखिमबारे आवश्यक परामर्श लिएर एसईई रोक्ने निर्णय भएको उपपप्रधानमन्त्री पोखरेलले जानकारी दिए।
‘कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकबाट एसईई अनिश्चितकाललाई स्थगित गर्ने निर्णय भएको छ’, उनले भने, ‘अर्को निर्णय नभएसम्मका लागि कोरोनाको जोखिम कम गर्न यस्तो कदम चालिएको हो।]
यसअघि पोखरेल संयोजक रहेको उक्त समितिले मानिसहरूको भिड हुने सिनेमा हल, पौडी पोखरी, सांस्कृतिक केन्द्र र रंगशालाहरू पनि डेढ महिनाका लागि बन्द गर्न निर्देशन दिने निर्णय गरेको थियो।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















