विश्‍वमा महामारीको रूपमा फैलिइरहेको कोरोना भाइरस ९कोभिड–१९०को जोखिमलाई मध्यनजर गर्दै सेनाले आफ्ना जनशक्तिको सम्भावित सुरक्षा तयारी थालेको छ । सेनाले सैनिक र गैरसैनिकको प्रयोजनका लागि ५२ वटा बेडकोे आइसोलेसन वार्डको तयारी पनि पूरा गरेको छ । यो समाचार आजको नयाँपत्रिका दैनिकमा छापिएको छ ।
पूर्वतयारीअन्तर्गत सेनाले मंगलबार र बुधबार जंगीअड्डा परिसरमा सेनाका विभिन्‍न युनिटमा कार्यरत सकलदर्जालाई तालिम गराएको छ । जंगी अड्डामा ५४ टेन्ट स्थापना गरेर सेनाले स्वास्थ्य महानिर्देशनालयका ५० सैनिक चिकित्सक तथा विभिन्न युनिटमा कार्यरत एक सय ३१ प्राविधिक सैनिकलाई प्रशिक्षण दिएको सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले बताए । ‘तालिम पाएका एक सय ८१ जनाले अब आठ पृतना र मातहतका बाहिनी र युनिटमा गएर तालिम दिनेछन्, यो प्रशिक्षक प्रशिक्षण तालिमजस्तै हो’ प्रवक्ता पाण्डेले भने, ‘हाम्रो जनशक्तिलाई लक्षित गरेर सञ्चालन गरिएको यो आन्तरिक तयारीसम्बन्धी तालिम हो ।’
सेनामा जम्मा ९६ हजार पाँच सयजना जनशक्ति कार्यरत छन् । एउटा ब्यारेकमा आठ सयसम्मका जनशक्ति कार्यरत छन् । उनीहरूलाई लक्षित गरेर दु्रत गतिमा तालिम दिने र सरकारी निर्देशनका आधारमा उनीहरूलाई नागरिकको स्वास्थ्योपचार र सुरक्षामा खटाउने सेनाको तयारी छ । सेनाले कोरोना भाइरससम्बन्धी जानकारीमूलक कक्षा सञ्चालन गरेको थियो । क्वारेन्टाइन सेटअप र पानीको शुद्धीकरण, फोहोर व्यवस्थापन, बिजुली तथा पानीको धारा व्यवस्थापन, फिल्डका शौचालय व्यवस्थापन, भाइरस रोकथाम र नियन्त्रणका विषयमा सैनिक टोलीलाई सैद्धान्तिक र व्यावहारिक तालिम दिइएको पाण्डेले जानकारी दिए ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को मापदण्ड अनुसार नौवटा श्रेणीमा विभाजन गरेर हरेक टेन्टमा दुईजना व्यक्ति रहने गरी क्वारेन्टाइन तयार गर्ने तालिम सेनाले दिएको छ । ‘आठै पृतनाबाट सहभागी सैनिकहरूले अब आफू कार्यरत युनिटमा गई कोरोना भाइरससम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा आवश्यकबमोजिम स्थानीयस्तरमा क्वारेन्टाइन क्याम्प स्थापनासहित भाइरस संक्रमण रोकथाम र नियन्त्रणको काम गर्नेछन्’ पाण्डेले भने । नेपाल सरकारको निर्णयबमोजिम कोरोना भाइरसको उच्च जोखिमविरुद्ध रोकथाम र नियन्त्रणका लागि उपलब्ध भएका सबै उपाय अवलम्बन गर्न प्रतिबद्ध रहेको सेनाले जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।