तेमाल । काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. १, बोहोरेदोभानमा प्रवेशद्वारा शिलान्यास भएको छ । बुधबार एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष सलामसिं तामाङले बुद्धधर्म विधिबाट शिलान्यास गरेका हुन् ।
शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष तामाङले धार्मिक तथा पर्यटकीय हिसाबले निर्माण हुन लागेको प्रवेशद्वारले ठूलो महत्व राख्ने बताए । ‘गेटमा आइपुग्ने वित्तिकै तेमाल कस्तो छ भन्ने कुराको आभास यो गेटले दिनेछ ।’ उनले भने, ‘तेमालको छुट्टै पहिचानको लागि यो गेटले ठूलो महत्व राख्दछ ।’

प्रवेशद्धार गाउँपालिकाको चालु आव ०७६⁄०७७ को विनियोजित रु १० लाख बजेटमा निर्माण हुन लागेको १ नं. वडा अध्यक्ष मानबहादुर श्रेष्ठले जानकारी दिए । ‘चालु आव ०७६⁄०७७ को विनियोजित रु १० लाख बजेटमा यो प्रवेशद्वार निर्माण हुँदैछ ।’ श्रेष्ठले भने, ‘असार मसन्तसम्ममा यो निर्माण सम्पन्न हुनेछ ।’
तेमालको पुरानो सडकखण्ड मानिने यस बोहोरेदोभान तेमाल सडकखण्डको प्रवेशद्धारबाट तेमाल गापा वडा नं. १ आधाबाट, कमेरे सस्र्यूखर्क लगायतका ठाउँहरुका साथै उत्तरमा आधाबाट–नारायाणस्थान सडकखण्डलाइ पनि जोड्नेछन् भने २ नं. वडामा चुखा डाडाँगाउँ जोड्छ । प्रवेशद्धारको बायाँबाट साबिकको सरमथाली, ठुलोपर्सेल लगायतको भेगलाई जोड्नेछ ।
कार्यक्रममा कार्यपालिका सदस्य पार्वती श्रेष्ठ, वडा सदस्यहरु लगायतका सहभागी रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।