काभ्रे । काभ्रेको रोशी स्थित माम्ती र थाङसिङ बेसीमा बन्दै गरेको ‘मोटरेबल सस्पेन्सन बृज’ निर्माण कार्य सूचारु भएको छ । प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादुर तामाङ (बमध्वज)ले हरहालतमा आफूलाई पुल चाहिएको भन्दै निर्माण कम्पनी र सम्बन्धित कार्यालयलाई एक हप्ताको अल्टिमेटम दिएसँगै पूल निर्माण सूचारु भएको हो ।

बुधबार सांसद बमध्वज, पूर्वाधार विकास कार्यालय, काभ्रेका प्रमुख लोकनाथ रेग्मी, वडा अध्यक्ष पोष्टराज गौतम, लक्ष्मीबहादुर घिसिङ लगायतका पुल अनुगमन गर्न पुगेका थिए ।
पुल निर्माणको अवस्थाको बारेमा बमध्वजले निर्माण पक्षका प्रतिनिधि तारा प्रसाद पौडेल र पूर्वाधार विकास कार्यालय, काभ्रेका प्रमुख लोकनाथ रेग्मीसँग जिज्ञासा राखेका थिए । निर्धारित समय भित्र पुल निर्माण भइसक्नुपर्नेमा जोड दिंदै सांसद बमध्वजले कुनै पनि समस्या आए आफू सहयोग गर्न तयार रहेको बताए ।

पूल निर्माण सम्पन्न भएपछि जनताको खुशीको दिन आउँछ
सांसद बमध्वजले पुल निर्माण कार्य सम्पन्न भएपछि यस भेगका जनताको खुशीको दिन आउने बताउँदै अब धनजनको क्षेति नहुने बताए ।
‘अब यो पुल निर्माण सम्पन्न भएपछि जनताको खुशीको दिन आउँछ । वर्षेनी जनताको धनजनको क्षति भइरहन्थ्यो, अब यो रोक्छ ।’ उनले भने, ‘सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारालाई समेत यो पुलले टेवा पुर्याउने निश्चित छ ।’

१० वर्षदेखि अधुरो रहेको यो पुल निर्माणको लागि आफू जनप्रतिनिधि भएपछि निक्कै पहल गरेको स्मरण गराउँदै अब पुल बन्नेमा आफू ढुक्क रहेको बताए । ‘१० वर्षदेखि अधुरो र थाती रहेको यो पुललाई हामी जनप्रतिनिधि आएपछि निक्कै पहल गर्यौ ।’ उनले भने, ‘अब यो पुल १ डेढ हप्तामा सम्पन्न हुन्छ । पुरै तेमाल र रोशी जोड्ने र सिन्धुली र रामेछापका जनता समेत यो पुल निर्माण भएपछि लाभान्वीत हुनेछ ।’
जेष्ठ मसन्तसम्ममा पुल निर्माण हुन्छ –रेग्मी

पूर्वाधार विकास कार्यालय, काभ्रेका प्रमुख लोकनाथ रेग्मीले दुवै पुल जेष्ठ मसन्तसम्ममा सकिने बताए । केही समस्याहरु रहेता पनि अब निर्माण कार्य पुनः अघि बढेकोले पनि भनेको समयमा सम्पन्न हुनेमा प्रमुख रेग्मीले आफू विस्वस्त रहेको बताए । ‘जेष्ठ मसन्तसम्ममा सकिनुपर्ने हो । मलाई लाग्छ जेष्ठमा सकिन्छ ।’ रेग्मीले भने ।
आर्थिक उन्नतिको बाटो खुल्नेछ
यहाँ पुल निर्माण कार्य सम्पन्न भएपछि आर्थिक उन्नतिको बाटो खुल्ने नेकपाका जिल्ला सदस्य एवं स्थानीय उज्वल लामाले बताए । पुल निर्माण नहुँदा यातायात देखि लिएर किसानले उत्पादन गरेको सामग्रीहरुले समेत बजार नपाएको लामाले बताए । ‘यो पुल निर्माण हुन लागेको १० वर्ष भयो । संघीय सांसद गंगाबहादुर तामाङ, प्रदेश सांसद चन्द्र लामा र रत्न ढकालले पछिल्लो चरणमा धेरै पहल गर्नुभएको छ ।’ लामाले भने, ‘यो पुल निर्माण भएपछि रोशी गाउँपालिकाको वडा नं. ६, ५, ४, ३, २ का जनता र महाभारत गाउँपालिकाको पूरै जनतालाई सेवा र सविधा पुग्ने छ । त्यति मात्र होइन त्यहाँको जनताको आर्थिक उन्नतिको बाटो पनि खुल्नेछ ।’

असार १५ सम्ममा थाङसिङ बेसीमा पुल निर्माण
निर्माण कम्पनी इलाइट कन्स्ट्रक्शनका मुख्य प्रतिनिधि तारा प्रसाद पौडेले असार १५ गतेसम्ममा पुल निर्माण कार्य सम्पन्न हुने बताए । ‘माम्तीको पुल त बैशाख १५ गतेसम्ममा सम्पन्न भइ नै सक्छ ।’ उनले भने, ‘अब असार १५ गतेसम्ममा कटुञ्जेको थाङसिङ बेसीमा पुल निर्माण भइसक्ने छ ।’

दुवै पुल निर्माण कार्य सम्पन्न गर्न यस अघि सांसद बमध्वज, पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज), निर्माण कम्पनीको प्रतिनिधि र सम्बन्धित कार्यालयको प्रमुख लगायतका पूर्वाधार विकास कार्यालय, काभ्रेमा बैठक बसेको थियो । बैठकले एक हप्ता भित्रमा काम सूचारु गर्ने निर्णय गरेको थियो ।

यो पनि पढ्नुहोस्ः
माम्ती र थाङसिङ बेसीको पूल निर्माणको लागि सांसद बमध्वजको एक हप्ते ‘अल्टिमेटम’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















