तेमाल । देशमै पहिलोपटक गाउँपालिका अध्यक्षको संयोजकत्वमा कोरोना भाइरस विपद व्यवस्थापन समिति नै गठन गरेर सचेतना जगाउने योजना बनाएका तेमाल गाउँपालिकाले सचेतना कार्यक्रम शुरु गरेको छ । प्रत्येक वडामा वडा अध्यक्षको संयोजकत्वमा सचेतना अभियान सञ्चालन भइरहेको छ भने तेमाल प्रवेश गर्ने २ वटा मुख्य नाकामा हेल्थ डेस्क पनि सञ्चालन गरेको छ ।

आज विहान ६ बजेदेखि तेमाल प्रवेश गर्ने मुख्यद्वार कालिकाटीमा हेल्थ डेस्क राखेरस्वास्थ्य परीक्षण शुरु गरिएको छ । त्यसैगरि बोहोरेदोभानमा भने आइतबारदेखि सञ्चालनमा आउने गरि हेल्थ डेस्क निर्माण गर्न लागेको स्वास्थ्य शाखा प्रमुख शिवहरि पाठकले जानकारी दिए ।
हेल्थ डेस्क मार्फत स्वास्थ्य परीक्षण सञ्चालन गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डाक्टर नगेन्द्र कुमार झा तेमाल पुगेका थिए ।
हेल्थ डेस्कमा स्वास्थ्य परीक्षणका लागि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (लुगा) सहित स्वास्थ्य कर्मी बसेका छन् ।
प्रत्येक वडामा सचेतना कार्यक्रम
कोरोना भाइरस सम्बन्धी जनचेतना जगाउनका लागि तेमालको प्रत्येक वडामा सचेतना कार्यक्रम सञ्चालन इरहेको छ । वडा नं. ७ का वडा अध्यक्ष तथा गाउँपालिका प्रवक्ता ज्ञानबहादुर तामाङ प्रत्येक घर–घरमा पुगेका छन् ।

त्यसैगरि वडा नं. १ र २ मा पनि यो कार्यक्रम सञ्चालन गरेको छ भने वडा नं. ४, ५, ६, ८ र ९ मा पनि सञ्चालन भइरहेको छ ।

Comments

comments