अशोक बुद्ध लामा
रोशी । विश्वभरि फैलिरहेको कोरोना भाइरस संक्रमण रोकथामका लागि काभ्रे जिल्लाको रोशी गाउँपालिकाले विभिन्न निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष दल बहादुर लामा (डिबी)को अध्यक्षतामा आज (शुक्रबार) बसेको विपद व्यवस्थापन समितिको बैठकले रोशीको दुई ठाउँमा क्वारेन्टाईन स्थल र तीन ठाउँमा हेल्थ डेस्क निर्माण गर्ने निर्णय गरेको छ ।
गाउँपालिका प्रवक्ता पदमबहादुर लामाका अनुसार क्वारेन्टाईनको मंगलटार स्वास्थ्य चौकी वा मंगल जनविजय माध्यमिक विध्यालय र लक्ष्मी नारायण माध्यमिक विध्यालय शिखर आम्बोटेलाई तोएिको छ । त्यसैगरि रोशी गाउँपालिकाको कार्यलय कटुञ्जेबेशी, फलामेसाँघु बस स्टप खहरेपाँगु र मंगलटारमा हेल्थ डेस्क स्थापना गरीने प्रवक्ता लामाले जानकारी दिए ।
उपाध्यक्षको संयोजकत्वमा उद्धार टोली
कार्यपालिकाको बैठकले कोरोना संभावितलाई उद्धारको लागि उपाध्यक्ष लक्ष्मी कुमारी बर्तौलाको संयोजकत्वमा एक टोली समेत गठन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस लागेको आशंका भएमा तत्काल अस्पताल पुर्‍याउनका लागि टोली गठन गरेको हो । टोलीमा वडा नं ७ का वडा अध्यक्ष पोष्टराज गौतम र कटुञ्जे स्वास्थ्य चौकीका अ.हे.व. लक्ष्मी प्रसाद देवकोटा सदस्य रहेका छन् ।
आवश्यक सामग्री खरिद गर्ने
कार्यपालिकाको बैठकले सम्भावित संक्रमण रोकथामको लागि आवश्यक सामग्रीहरु तुरुन्तै खरिद गर्ने निर्णय समेत गरेको छ । प्रवक्ता लामाका अनुसार सेनिटाईजर, मास्क लगायतका अन्य सामग्रीहरु तुरुन्त खरिद गर्ने पनि निर्णय गरेको छ ।
सरकारी सवारी साधन ‘हाइ अलर्ट’मा
त्यसैगरि बैठकले गाउँपालिकामा भएका सरकारी सवारीसाधन तथा एम्बुलेन्सलाई ‘हाइ अलर्ट’मा राखिने निर्णय गरेको छ । ‘सरकारी सवारी साधन र एम्बुलेन्सलाई जुनसुकै बेला उपलब्ध हुने गरी तयारी अवस्थामा रहन पनि निर्देशन दिएको छ ।’ प्रवक्ता लामाले भने, ‘सार्वजनीक सवारीसाधनहरुमा सिट संख्या भन्दा बढि यात्रु ओसारपसार गर्न नदिन सुरक्षा निकायसँग समन्वय गरी नियमित चेक जाँच गर्ने निर्णय पनि गरेका छौं ।’
स्वास्थ्यकर्मीहरुको विदा स्वीकृत नगर्ने
त्यस्तै गाउँपालिका अन्तर्गतका स्वास्थ्य संस्थाहरुमा कार्यरत कर्मचारीहरुको अत्यावश्यक बाहेक अन्य विदा स्वीकृत नगर्ने भएको छ । ‘संक्रमण नियन्त्रण नभएसम्म स्वीकृत नगर्ने तथा आवश्यकता अनुसार अन्य स्थानमा काजमा पठाउन सकिने समेत निर्णय गरेका छौं ।’ लामाले भने, ‘हामी जनताको स्वास्थ्य प्रति गम्भिर छौं । त्यसैले कोरोना रोकथामको लागि हामी सबै शक्ति प्रयोग गर्छौं ।’
भेलामा प्रतिबन्ध र कालोबजारी हुन नदिने
त्यस्तै बैठकले कुनै पनि प्रकारको गोष्ठी, सेमिनार, सम्मेलन लगायत २५ जना भन्दा बढि मानिस जम्मा हुने कार्यक्रमहरु नगर्न नगाराउने तथा अत्यावश्यक बाहेक आवागमन नगर्न रोशी बासीलाई अनुरोध गरेको छ । त्यस्तै दैनिक उपभोग्य सामग्रीहरुको कृतिम अभाव गरी कालोबजारी हुन नदिन आवश्यकता अनुसार बजार अनुगमनको व्यवस्था मिलाउने पनि प्रवक्ता लामाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।