• सुसन सापकोटा
चौंरीदेउराली । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि काभ्रेको चौंरीदेउराली गाउँपालिकाले सतर्कता आप्नाउने भएको छ । गाउँपालिकास्तरिय विपद व्यवस्थापन समितिको बैठकले कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि विभिन्न योजना बनाई सतर्कता आप्नाउने भएको हो ।
गाउँपालिका छिर्ने दुई नाकामा ‘हेल्थ डेस्क’
गाउँपालिका अध्यक्ष दिननाथ गौतम (प्रयास)का अनुसार चौंरीदेउराली गाउँपालिका प्रवेश गर्ने मुख्य दुई नाकामा हेल्थ डेस्क राख्ने भएको छ । स्वाथ्य परिक्षणको लागि राखिने उक्त हेल्थडेस्क दोलालघाट र खहरेघाटमा राखिने भएको छ । हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको छ । ‘हामीले खहरेघाट र दोलालघाटमा हेल्थ डेस्क स्थापना गरी प्रत्येक यात्रुको स्वास्थ्य अवस्था परिक्षण गरेर मात्र गाउँमा पठाउने छौं ।’ अध्यक्ष गौतमले भने, ‘संका लागेका यात्रुलाइ आइसोलेसनमा राख्ने र विभिन्न तरिकाहरु अप्नाउने निर्णय गरेका छौं ।’
प्रत्येक वडालाई ५ हजार मास्कको ‘कोटा’
बैठकले बजारमा मास्कको अभाव भएकोले प्रत्येक वडाले मास्क उत्पादन गरि निःशुल्क वितरण गर्ने निर्णय समेत गरेको छ । ‘बजारमा मास्कको निक्कै अभाव छ । अब हामी आफै उत्पादन गर्ने र मास्कको लागि आत्मनिर्भर हुने तिर लाग्ने भएको छ ।’ अध्यक्ष गौतमले भने, ‘प्रत्येक वडाले कम्तीमा ५ हजार मास्क उत्पादन गरेर जनतालाई निःशुल्क मास्क वितरण गर्ने निर्णय गरेका छांै ।’
स्वास्थ्यकर्मीलाई छुट्टी छैन
बैठकले चौंरीदेउराली गाउँपालिका भित्रका सबै स्वास्थ्यकर्मीहरुलाई अति आवश्यक कुरामा बाहेक छुट्टी नदिने निर्णय गरेको छ । ‘मुलुक यत्रो ठूलो संकटमा पर्न लागेको अवस्थामा स्वास्थ्यकर्मीहरुलाई विदा दिनु हुन्न भन्ने लागेको छ ।’ गौतमले भने, ‘अत्यावश्यक बाहेक अरु कुरामा हामी विदा दिन्नौं ।’ बैठकले गाउँपालिका भित्रका सबै स्वास्थ्यकर्मिहरु २४ सै घण्टा स्वास्थ्यसंस्थामा रहनुपर्ने निर्णय समेत गरेको छ ।
सचेतना कार्यक्रम सञ्चालन गर्ने
कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि जनचेतना जगाउने निर्णय बैठकले गरेको छ । गाउँ–गाउँ, टोल–टोलमा सचेतना जगाउन निर्णय गरेको गाउँपालिका अध्यक्ष गौतमले तेमाल अनलाइनलाई जानकारी दिए । ‘गाउँपालिकामा रहेका स्वास्थ्य चौकी र विभिन्न संघसंस्थाहरुसँगको समन्वयमा सचेतना कार्यक्रम सञ्चालन गर्ने निर्णय हामीले गरेका छौं ।’ गौतमले भने, ‘टोल–टोल, गाउँ–गाउँमा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्नेछौं । जनतालाई यस प्रति सजक र सचेत बनाउनु गाउँसरकारको दायित्व भित्र पर्छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।