तेमाल । काभ्रेको तेमाल गाउँपालिकाले कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि भन्दै अत्यावश्यक काम बाहेक सबै बन्द गरेको छ । गाउँपालिकाका प्रवक्ता ज्ञानबहादुर तामाङका अनुसार आइतबार (चैत्र ९ गते) देखि २१ गतेसम्म अत्यावश्यक सेवा मध्य फोहोर मैला व्यवस्थापन र स्वास्थ्य केन्द्र व्यवस्थापन सम्बन्धी सेवा बाहेक अन्य सबै सेवा बन्द गरेको हो ।
‘गाउँपालिकाबाट प्रवाह हुने सबै प्रकारका भुक्तानीहरु, योजना संझौता, योजना फरफारक, सिफारिस लगायतका सम्पूर्ण सेवाहरु २१ गतेसम्म स्थगित गरिएको छ ।’ प्रवक्ता लामाले भने, ‘सबै स्वास्थ्यकर्मीहरुलाई हाई अलर्टमा राखिएको छ । साथै एम्बुलेन्स पनि हामीले तयारी अवस्थामा राखेका छौं ।’
लामाले सम्पूर्ण जनतालाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन समेत अनुरोध गरेका छन् ।
गाउँपालिकाले जारी गरेको सूचना यस्तो छः
प्रस्तुत विषयमा नोवल कोरोना (कोभिड–१९) भाइरसको जोखिमलाई ध्यानमा राख्दै यस गाउँपालिकाले मिति २०७६/१२/०९ गते देखि २१ गतेसम्म अत्यावश्यक सेवा मध्य फोहोर मैला व्यवस्थापन र स्वास्थ्य केन्द्र व्यवस्थापन सम्बन्धी सेवा बाहेक अन्य सबै सेवा बन्द गरेको व्यहोरा जानकारी गराइन्छ । तसर्थ, यस गाउँपालिकाबाट प्रवाह हुने सबै प्रकारका भुक्तानीहरु, योजना संझौता, योजना फरफारक, सिफारिस लगायतका सम्पूर्ण सेवाहरु उपरोक्त मितिसम्म स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।
लक्ष्मण कुईकेल
प्रमुख प्रशासकीय अधिकृत
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।