नमोबुद्ध । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाले ८ शैयाको आइसोलेशन कक्ष स्थापना गरेको छ । आईसोलेशन कक्ष आज (बुधबार) भकुण्डेमा रहेको श्री जनक माविमा निर्माण गरेको हो ।
नमोबुद्ध नगरपालिका, मेथिनकोट अस्पताल, नेपाली सेना, नेपाल प्रहरीको समन्वयमा निर्माण गरेको नगर प्रमुख टिपि शर्मा तिमल्सिनाले जानकारी दिएका छन् । नगर प्रमुख तिमल्सिनाका अनुसार यो कक्षलाई चाँडै नै १५ शैया पुर्र्याउने तयारीमा रहेको छ ।
‘तेमाल गाउँपालिका र रोशी गाउँपालिकासँग समन्वय गरेपछि हामीले यो आईसोलेशन कक्षलाई १५ शैयामा पुर्रयाउने तयारीमा छौं ।’ तिमल्सिनाले भने, ‘भुगोलको हिसावले यो केन्द्र भएकोले, मेथिनकोट अस्पताल पनि यहीं भएकोले र नेपाली सेनाको बाहिनी अड्डा समेत भएकोले हामी ३ स्थानीय तह समन्वय गर्ने तयारीमै छौं।’
नमोबुद्धमा हेल्थ डेस्कको अवस्था
नगर प्रमुख तिमल्सिनाका अनुसार प्रत्येक स्वास्थ्य केन्द्रहरुलाई नै हेल्थ डेस्कको रुपमा सञ्चालन गरेको छ । विशेष गरि भिडभाग लाग्ने स्थानहरुमा हेल्थ डेस्क निर्माण गरेको उनले बताए । ‘नमोबुद्ध दर्शन गर्ने स्थनमा, प्रत्येक हेल्थ सेन्टरहरु, मेथिनकोट अस्पतालमा हेल्थ डेस्क राखेका छौं ।’ तिमल्सिनाले भने, ‘भकुण्डेबेसी बजारमा नगरपालिकाले आवश्यकता अनुसारको पानी र सावुनको व्यवस्था पनि गरेका छौं ।’
नमोबुद्ध पनि पूर्णरुपमा लक डाउन
नमोबुद्ध नगरपालिका पनि पूर्ण रुपमा लक डाउन गरिएको नगर प्रमुख तिमल्सिनाले जानकारी दिए । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि सबै एक भएर लाग्नुपर्नेमा जोड दिंदै उनले लक डाउनलाई पूर्णरुपमा पालना गर्न जनसमुदायलाई अनुरोध समेत गरेका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।