धुलिखेल । काभ्रे जिल्लामा कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि भएको ‘लक डाउन’लाई अटेर गर्ने १ सय ९७ कार्वाहीमा परेको छ । आज (बुधबार) साँझ काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रावणकुमार तिमिल्सिनाले प्रेस नोट जारी गर्दै उक्त कुराको जानकारी दिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी मितिल्सिनाले जारी प्रेस नोटमा लेखिएको छ, ‘नेपाल सरकारद्वारा निर्देशन भए बमोजिम यस जिल्लामा पनि चैत्र १० गतेदेखि चैत्र १८ गतेसम्मको लक डाउन कार्यक्रमलाई कार्यन्वयन गर्ने क्रममा अटेर गर्ने १ सय ७१ वटा मोटरसाईकल, ३ वटा मिनिट्रक, १२ वटा स्कुटर, ४ वटा कार, १ वटा स्कर्पियो, ४ वटा साइकल र २ जना मानिस गरि कुल १९७ लाई कारवाही गरिएको छ ।’
प्रमुख जिल्ला अधिकारी श्रावणकुमार तिमिल्सिनाद्वारा जारी प्रेस नोट यस्तोछः
विश्व व्यापी महामाभरकिो रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि काभ्रेपलाञ्चोक जिल्ला स्थित सम्पूर्ण सरोकारवाला निकायहरुसँगको समन्वय र सहकार्यमा यस जिल्ला भित्र अधिकतम सावधानीका साथ उपायहरु अपनाइएको छ । सो सम्बन्धमा यसै प्रेस नोट मार्फत काभ्रेपलाञ्चोक जिल्लाबासीहरुमा निम्न अनुरोध गरिन्छ ।
१. नेपाल सरकारद्वारा गत चैत्र १० गतेदेखि आगामी चैत्र १८ गतेसम्म विश्वव्यापी रुपमा संक्रामक रोगको रुपमा फैलिदै गएको कोभिड–१९ को विरुद्ध देशव्यापी रुपमा गरिएको लक डाउनलाई अझ प्रभावकारी र व्यवस्थित बनाउन यस जिल्ला भित्र रहेको सबै स्थानीय तहरुको क्रियाकलाप स्वागत योग्य छ ।
२. आपूर्ति व्यवस्थालाई नियमित, व्यवस्थित र सहज बनाउन जिल्ला भित्र रहेका काभ्रे उद्योग बाणिज्य संघ, धुलिखेल उद्योग बाणिज्य संघ, पेट्रोलियम पदार्थ वितरक संघ, औषधि वितरण तथा उत्पादक व्यवसायीहरु, होटल व्यवसायी संघ, सञ्चारकर्मीहरु लगायत अन्य विभिन्न संघसंस्थाहरुद्वारा भएको निरन्तर सहयोगका लागि धन्यवाद सहित आगामी दिनहरुमा पनि यसै किसिमको सहयोगको अपेक्षा गरिन्छ ।
३. नेपाल सरकारद्वारा निर्देशन भए बमोजिम यस जिल्लामा पनि चैत्र १० गतेदेखि चैत्र १८ गतेसम्मको लक डाउन कार्यक्रमलाई कार्यन्वयन गर्ने क्रममा अटेर गर्ने १ सय ७१ वटा मोटरसाईकल, ३ वटा मिनिट्रक, १२ वटा स्कुटर, ४ वटा कार, १ वटा स्कर्पियो, ४ वटा साइकल र २ जना मानिस गरि कुल १९७ लाई कारवाही गरिएको छ ।
४. सम्पूर्ण जिल्लाबासी नागरिकहरुद्वारा घरभित्रै वसी निर्देशनको पालना गरिदिनु भएकोमा हार्दिक आभार व्यक्त गर्दै आगामी दिनहरुमा समेत यसै किसिमको सहयोगको अपेक्षा गर्दछु ।
त्यसैगरि सबैमा आफ्नो व्यक्तिगत सरसफाईमा ध्यान दिनुहुनका साथै कोभिड–१९ सम्बन्धि सर्वसाधारणका लागि जारी गरिएको जनचेतनामुलक सन्देश पालन गर्नुहुन अनुरोध गर्दै कोरोना भाईरस (कोभिड–१९) सम्बन्धी कुनै पनि मिसिमको लक्षण देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्था।सुरक्षा निकायमा सम्पर्क गर्नुहुन सबैमा हार्दिक अनुरोध गर्दछु ।
मितिः २०७६।१२।१२
श्रावणकुमार तिमिल्सिना
प्रमुख जिल्ला अधिकारी
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।