काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन्। अस्वस्थ भएपछि उनलाई बिहीबार राति नै महाराजगञ्जको त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियो थोरासिक, भास्कुलर एण्ड ट्रान्स्प्लान्ट सेन्टरमा भर्ना गरिएको छ।
असहज महसुस भएपछि बिहीबार राति ११ बजेको समयमा उनलाई सरकारी निवास बालुवाटारबाट मनमोहन कार्डियो सेन्टरमा भर्ना गरिएको स्रोतले जनाएको छ।
प्रधानमन्त्रीलाई अस्पतालमा भर्ना गरिएको बारेमा उनको सचिवालय र त्रिवि शिक्षण अस्पताल प्रशासनले अहिलेसम्म केही बोलेका छैनन्।
ओलीको गत २१ फागुनमा शिक्षण अस्पतालमै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनी फागुन १९ मा भर्ना भएर फागुन ३० गते अस्पतालबाट बालुवाटार फर्किएका थिए।
शिक्षणबाट बालुवाटार फर्किएपछि ओलीले कोरोना भाइरसको सन्दर्भमा देशबासीलाई दुई पटक सम्बोधन गरेका थिए। उनले एक पटक मन्त्रिपरिषद् बैठक पनि बोलाएका थिए। बालुवाटर फर्किएपछि ओली सार्क राष्ट्रका प्रमुखहरुको भिडियो कन्फरेन्समा पनि सहभागि भएका थिए।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।