रामेछाप । रामेछाप जिल्लामा सरकारले जारी गरेको लकडाउनको तेस्रोदिन विहिबारसम्म एक जनालाई आइसोलेसन कक्ष र ३५ जनालाई क्वारेन्टाइनमा राखिएको छ । छिमेकी देश भारत र अन्य मुलकबाट जिल्ला आएका ३५ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।
विहिबारसम्म गोकुलगंगा गाउँपालिकामा ६ जना, दोरम्बा गाउँपालिकामा १० जना, मन्थली नगरपालिकामा १० जना, रामेछाप नगरपालिकामा ५ जना र खाँडादेवी गाउँपालिकामा ४ जनालाई क्वारेन्टाइनमा राखिएको र एकजनालाई आइसोलेसन कक्षमा भर्ना गरिएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले जानकारी दिए ।
प्रमुख कर्णका अनुसार तामाकोसी अस्पताल मन्थलीमा आइसोलेसनमा भर्ना भएका व्यक्तिको ज्वरो घटेपछि कोरोनाको आशंकामा नमुना परीक्षण गर्न पठाइएको छैन । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि रामेछाप जिल्लाका आठ वटै स्थानीय तहले उच्च सतर्कता अपनाएका छन् । रामेछापको लिखुतामाकोशी गाउँपालिकाको केन्द्र धोवी बजारमा १७ शैयाको क्वारेन्टाइन सन्ेटर स्थापना गरिएको छ ।
विश्वव्यापी रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस कोभिड १९ को संक्रमणको सतर्कता अपनाउँन र संकास्पद विरामीको प्राथमिक उपचार गर्न लिखुतामाकोशी गाउँपालिकाको पहल तथा स्थानीय नेपाली कांग्रेसका युवा नेताहरुको सक्रियतामा सो सेन्टर स्थापना गरिएको हो । यस्तै लिखुतामाकोशी गाउँपालिका वडा नं ५ नागदशको चण्डिडाँडामा पनि २१ बेडको क्वारेन्टाइन स्थापना गरिएको वडाअध्यक्ष शोमबहादुर तामाङले जनकारी दिए । यसैगरी उमाकुण्ड गाउँपालिकाले बाम्तिको सिद्देश्वर माविमा २० वेडको क्वारेन्टाइन कक्ष स्थापना गरेको छ ।
दोरम्बा गाउँपालिकाले वडा नं २ मा रहेको दोरम्बा अस्पतालमा आइसोलेसन केन्द्र स्थापना गरिएको छ । यसैगरी दोरम्बाको थापागाउँमा पनि कोरोना भाइरस संकास्पद विरामीको प्राथमिक उपचार केन्द्र स्थापना गरिएको गाउँपालिका अध्यक्ष कमानसिंह मोक्तानले जानकारी दिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।