काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ रोगसँग जोगिन घरमा पनि कम्तीमा एक मिटर दुरीमा बस्न अपिल गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै यस्तो बताएका हुन् ।
उनले हटिया या सार्वजनिक स्थानमा हिँड्दा पनि एक मिटर दूरीको शूत्रलाई पालना गर्न अपिल गरेका छन्। ‘घरमा बस्दा पनि कृपया एक मिटर दूरीको नियम पालना गरिदिनुस्। बाहिर किनमेलमा निस्किँदा पनि अब सेतो घेराको नियम पालना गर्नुपर्छ।’
डा. कार्कीले कुनै पनि सामान लिँदा दिँदा पनि एक मिटर दूरी कायम गर्न अपिल गरे। ‘एक मिटर दूरीको नियम कायम गर्न सकियो भने मास्क पनि अनिवार्य चाहिँदैन तर यो नियम सबैले पालना गर्नुपर्छ’, उनले भने, ‘कोभिड-१९ थुक र र्यालबाट चाँडो भन्दा चाँडो एकबाट अर्कामा फैलिइरहेको छ। यस्तोमा दूरीको नियम अनिवार्य छ।’
डा। कार्कीले कोभिड-१९ को औषधि या कुनै भ्याक्सिन नबनिसकेको अवस्थामा एक मिटर दूरी नै सबैभन्दा ठूलो औषधि भएको बताए । ‘हिलेलाई कोभिड(१९ को औषधि भनेकै एक मिटरको दूरीमा बस्नु हो’, उनले भने, ‘यो नियम, घर, अस्पताल सबैतिर पालना गरिएमा हामी जोगिन सक्छौं।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















