धुलिखेल । कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि काभ्रे जिल्लामा २ सय ७३ बेडको क्वारेन्टाइन कक्ष स्थापना भएको छ । नेपाली सेना र विभिन्न स्थानीय तहको संयुक्त पहलमा क्वारेन्टाइन कक्ष स्थापना गरिएको हो ।

क्वारेन्टाइन स्थापना गर्ने क्रममा जिल्लाको सदरमुकाम धुलिखेलमा सबैभन्दा बढी क्षमता भएको क्वारेन्टाइन विष्णुदल गणमा नेपाली सेनाले स्थापना गरेको छ । नेपाली सेनाले गणको परिसरभित्रै १ सय बेड क्षमता भएको क्वारेन्टाइन स्थापना गरेको विष्णुदल गणका गणपति सुवास खड्काले जानकारी दिए ।
विष्णुदल गणले निर्माण गरेको उक्त क्वारेन्टाइनमा नेपाल रेडक्रस काभ्रेले क्वारेन्टाइनका लागि आवश्यक सामग्री सहयोग गरेको खड्काले जानकारी दिए ।
त्यसैगरी धुलिखेल नगरपालिका र नेपाली सेना विष्णुदल गणले धुलिखेलस्थित सञ्जीवनी उच्च माविमा ७० बेडको क्वारेन्टाइन तयार गरिएको धुलिखेल नगर प्रमुख अशोक कुमार व्याञ्जुले जानकारी दिए ।
त्यस्तै बनेपा नगरपालिका, विष्णुदल गण र नेपाल रेडक्रस काभ्रेको संयुक्त पहलमा ६५ बेडको क्वारेन्टाइन निर्माण भएको छ । उक्त क्वारेन्टाइन कक्ष बेनपास्थित नेपाल रेडक्रस तालिम केन्द्रमा निर्माण गरेको बनेपा नगरपालिकाका प्रेस संयोजक लक्ष्मण तिमल्सिनाले बताए । बनेपा पोलिटेक्निक स्कुल र अन्य स्थानमा पनि क्वारेन्टाइन निर्माण भइरहेको उनले जानकारी दिए ।
त्यसैगरी नेपाली सेनाको सहयोगमा पाँचखाल नगरपालिकाले ३० बेड र नमोबुद्ध नगरपालिकाले आठ बेडको क्वारेन्टाइनको निर्माण गरिसकेका छन् ।
२३ बेडको आइसोलेसन कक्ष निर्माण
जिल्लामा रहेका विभिन्न अस्पतालले २३ बेडको आइसोलेसन कक्ष पनि तयार गरेको छ । धुलिखेल अस्पतालले आठ बेडको, शिर मेमोरियल अस्पतालले पाँच बेडको, मेथिन्कोट अस्पतालले पाँच बेडको र पाँचखाल स्वास्थ्य चौकीले पाँच बेड क्षमताको आइसोलेसन कक्ष तयार पारेका हुन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।