म दुबईबाट २० मार्च ९चैत ७ गते० बिहान ७ बजे दिल्ली पुगें। दिल्लीबाट बिस्तार एयरलाइन्सको फ्लाइटमा साँझ ४ बजे काठमाडौं पुगेको थिए। काठमाडौं विमानस्थलबाट मामाको छोरासँग मोटरसाइकलमा मामा घर गएँ। घरमा माइजुमात्र थिइन्। म मामाघरमा अलग्गै कोठामा बसेको थिए।
२१ मार्च ९चैत ८ गते० काठमाडौंबाट सिधै धनगढी आउने भनेको थिए। तर, टिकट नपाएपछि नेपालगञ्जको टिकट काटे। काठमाडौंबाट नेपालगञ्जसम्म बुद्ध एयरको फ्लाइटमा पुगेको थिएँ। नेपालगञ्जको विमानस्थलदेखि म कोहलपुरसम्म विद्युतीय रिक्सामा पुगें। कोहलपुरबाट माइक्रोमा अत्तरियासम्म पुगे। अत्तरियादेखि बस समातेर धनगढी पुगेको थिएँ।
म दुबईमा खुद्रा पसलमा काम गर्दै आएको छु। विगत चार वर्षदेखि म त्यहीँ काम गरिरहेको छु। म दुबईबाट बिदामा नेपाल दुई पटक आइसकेको थिएँ। अहिले विश्वभरी कोरोना भाइरसको महामारी फैलिइरहेकोले कम्पनीले नै एक महिना बिदा दिएर घर पठाएको थियो।
कम्पनीमा काम गर्दा एसीमै बस्नुपर्ने थियो। त्यसैले रुघाखोकी प्राय लागिरहन्थ्यो। दुबईबाट आउँदा मलाई रुघाखोकी केही थिएन। तर, धनगढी घर पुगेपछि सामान्य रुघाखोकी लाग्यो। श्रीमतीले १० गते राति उपचारमा जान सुझाब दिइन्।
म श्रीमतीकै आग्रहमा ११ गते एक जना भाइ नाता पर्नेसँग मोटरसाइकलमा सेती प्रादेशिक अस्पतालमा भर्ना भएँ। ११ गतेदेखि अस्पतालको आइसोलेसनमै म उपचाररत थिएँ।
शुक्रबार ममा कोरोना भाइरस भएको पुष्टि भएपछि अहिले मलाई अस्पतालको शवगृह छेउमै रहेको कक्षमा एक्लै राखिएको छ। मेरो स्वास्थ्य अवस्था सामान्य नै छ। तर मलाई अलग्गै राखेदेखि अहिलेसम्म चेकजाँच गर्न भने कोही आएका छैनन्। अहिलेसम्म न त औषधि दिएका छन्, न त तातोपानीकै व्यवस्था गरेको छ। म चिसो पानी खाएर बसेको छु। –नेपाल लाइभबाट
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















