यस्ता रहेछन् सरकारले गोप्य राखिएको भनिएका निर्णयहरु काठमाडौं । सरकारले आइतबार बसेको मन्त्रीपरिषद् बैठक गोप्य राखेको भनि सर्वत्र चर्चाको विषय बन्यो । मन्त्रीपरिषद्को बैठकपछि सुचना तथा प्रविधि मन्त्री गोकुल बास्कोटासँग संचारकर्मीले निर्णयबारे जानकारी दिन आग्रह गरेपछि डिटेलमा जानकारी दिनका लागि फरक व्यवस्था गर्न लागिएको बताएका थिए । तर सरकारले औपचारिक रुपमा निर्णय सार्वजनिक नगरेपनि निर्णयहरु भने सार्वजनिक भएको छ । आईतबार बसेको मन्त्रीपरिषद्को बैठकले गरेको निर्णयहरु यस्ता रहेका छन्ः प्रधानमन्त्रीको प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् । भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुन् । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत अमृत राईलाई फिर्ता बोलाउने निर्णय । भारतका लागि नेपाली राजदूतमा निलाम्बर आचार्यलाई सिफारिस गरेको छ । आचार्य पूर्वकानुनमन्त्री एवं प्रवुद्ध समूहका सदस्य समेत हुन् । मलेसियाका लागि नेपाली राजदूतमा उदयराज पाण्डे र युएईका लागि नेपाली राजदूतमा कृष्ण ढकाल सिफारिस भएका छन् । पाण्डे यसअघि साउदी अरबका राजदूत थिए भने ढकाल परराष्ट्र मन्त्रालयकै सह–सचिव हुन् । नेपाल प्रहरीमा प्राविधिक तर्फबाट दुर्गा थापालाई एआइजी नियुक्त गर्ने निर्णय पनि गरेको छ। जेनेभास्थित विश्व व्यापार संगठन (डब्लुटिओ) का लागि नेपाली प्रतिनिधिमा दिपक धितालको समयावधि थप्ने निर्णय गरेको छ । सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी ९नेकपा०का नेता राजन भट्टराई प्रधानमन्त्रीको विदेश मामिला सल्लाहकार नियुक्त भएका छन् । भट्टराई माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा पनि विदेश मामिला सल्लाहकार थिए । पूर्वसांसद समेत रहेका उनी नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) का सदस्य समेत हुन् ।
काठमाडौं । सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको हो ।
यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडाउन बढीमा १४ दिनसम्म थप्नुपर्ने निष्कर्ष निकाल्दै मन्त्रिपरिषद्मा प्रस्ताव पठाउने निर्णय गरेको थियो ।
जसअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन ८ दिन थप्ने निर्णय गरेको हो ।
सरकारले कोरोना भाइरसको जोखिम न्यूनीकरणको उद्देश्यका साथ गत चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी एक साता लकडाउनको घोषणा गरेको थियो । सो लकडाउनको समयावधि चैत १८ गते बिहान ६ बजेदेखि सकिँदैछ । त्यसपछि पनि थप ८ दिन लकडाउन हुनेछ ।
कोरोना संक्रमणको जोखिम अझै रहेको भन्दै सरकारले लकडाउनको समयावधि लम्ब्याउने निर्णय लिएको हो । नेपालमा हालसम्म ५ जनामा कोरोनाको संक्रमण देखिइसकेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।