बेथानचोक । कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रणको लागि सचेतना जगाउँदै नेकपा काभ्रेका युवाहरु मास्क लिएर घर–घरमा पुगेका छन् । आज (सोमबार) नेकपा युवाहरु बेथानचोक गाउँपालिका वडा नम्बर ५ च्यासिंखर्कका हरेक घर–घरमा मास्क लिएर पुगेका हुन् ।
मास्कको साथमा युवाहरुले स्थानीयलाई कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट जोगिने उपाय समेत बताएका थिए ।
नेकपा जिल्ला नेता समेत रहेका युवा नेता मार्दन सिं तामाङ (पेमा)का अनुसार आत्मा बिकास सेवा समाज दक्षिण कोरियाले मास्क किन्नका लागि आर्थिक सहयो गरेको थियो । ‘आत्मा बिकास सेवा समाज दक्षिण कोरियाले यसको लागि ४३ हजार आर्थिक सहयोग गरेको थियो ।’ पेमाले भने, ‘यो पैसाबाट ३ हजार वटा मास्क खरिद गरेर घर–घरमा वितरण गरेका हौं ।’
मास्क च्यासिंखर्कको कामीडाँडा, वाइबाडाँडा, माझटोल, गोलेटोल, भञ्ज्याङ्, मदनबास, छापडाँडा, छिर्के, लडकुखोला पौवा, भङ्गला, खल्ते, च्यालटि, गोठडाँडा, मानेचौर, हुमाङडाँडा लगायत लगायतका गाउँमा बाँडेको उनले जानकारी दिए ।
यो महामारीमा सबै मिलेर सहयोगमा जुट्नुपर्ने आत्मा बिकास सेवा समाज दक्षिण कोरियाका सस्थापक अध्यक्ष गुन्जमान तामाङ बताए ।  ‘‘यो महामारीको समयमा एकले अर्कोलाई सहयोग गर्दा मात्रै समस्याको समाधान हुन्छ ।’ अध्यक्ष तामाङले भने, ‘कोरोना भाइरसकोबारेमा गाउँका जनतालाई सचेतना जगाउनका लागि मास्क वितरण गरेका हौं ।’

Comments

comments