काभ्रे । जिल्लाको धुलिखेल अस्पतालको आइसोलेसन कक्षमा हाल ३ जना उपचार गराइ रहेका छन् । यस अघि ५ जना आइसोलेसनमा भर्ना भएकोमा २ जना डिस्चार्ज भएपछि ३ जना बाँकी रहेको धुलिखेल अस्पतालका प्रवक्ता सुमन ताम्रकारले जानकारी दिएका छन् ।
प्रवक्ता ताम्रकारका अनुसार तीन जना मध्य २ जनाको रिपोर्ट नेगेटिभ आएको छ । १ जनाको भने रिपोर्ट आउन बाँकी रहेको उनले जानकारी दिए ।  भर्ना भएका मध्ये एक जना सिन्धुपाल्चोक जिल्लाका रहेका छन् भने असबै काभ्रेपलाञ्चोक जिल्लाका रहेका छन् ।
आइतबार ३४ वर्षीय एक युवक र सोमबार २२ वर्षीय युवक गरी दुई जना अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएको प्रवक्ता ताम्राकार बताए । ’हामी अहिले विशेष चनाखो भएर काम गर्दैछौं, कोरोनासँग मिल्दो लक्षण देखिएकाले उहाँहरूलाई आइसोलेसनमा राखेर उपचार गर्दै छौं ।’ उनले भने ।
हिजो भर्ना भएका युवक दुबईबाट फागुन ३० गते नेपाल आएका थिए । उनलाई दुई दिन अघिदेखि ज्वरो आएपछि अस्पताल भर्ना भएका हुन्।
आज (सोमबार) भर्ना हुने युवक तीन हप्ता अगाडि भारतको सिलगुढी गएर आएका थिए । उनी त्यहाँ साथीहरूलाई भेट्न गएका थिए । ज्वरो आएपछि नै भर्ना भएका उनको स्वाब परीक्षणका लागि पठाएको डा. ताम्राकारले बताए ।
भेन्टिलेटर र पिपिई पर्याप्त नहुँदा समस्या
धुलिखेल अस्पतालमा भेन्टिलेटर नहुँदा आगामी दिनमा समस्या आउने प्रवक्ता ताम्रकारले बताएका छन् । त्यसैगरि पर्याप्त पिपिई पनि नभएको उनले बताए । ‘यहाँ न भेन्टिलेटर छ न पर्याप्त पिपिई छ ।’ ताम्राकारले चिन्ता व्यक्त गर्दै भने, ‘यो सरकार किन कानमा तेल हालेर बसेका हुन् थाहा छैन ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।