चितवन । चितवन जिल्लाको माडी नगरपालिका वडा नं. ७ घर भएकी एक इसाई महिलालाई प्रहरीले पक्राउ गरेको छ । येशुलाई विश्वास गरेमा कोभिड १९ (कोरोना भाइरस)ले छुँदैन भन्दै सर्वसाधारणमा भ्रम फैलाएको भन्दै उनलाई आज (सोमबार) प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पक्राउ पर्नेमा ३८ वर्षीय जानकी ढुंगाना रहेकी छिन् ।
‘तपाईँहरु येशुलाई विश्वास गर्नुहोस् । कोरोनाले छुँदैन’ भन्दै भ्रम छरेका कारण पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी नान्तीराज गुरुङले जानकारी दिएका छन् ।
ढुंगानालाई पक्राउ गरेर प्रहरीले अनुसन्धानका लागि जिल्ला अदालतबाट १० दिनको म्याद लिएको छ । “ती महिलाले आम सर्वसाधारण भेला पार्दै येशुको किताब र तस्वीर बाँडेको खुलेको छ ।” एसपी गुरुङले भने, ‘यस्तो काम उनी आफैँले गरेको या अरुले अह्राएको भन्ने हामी खोज्ने काम गरिरहेका छौं ।’
अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान थालिएको पनि एसपी गुरुङले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















