धुलिखेल । काभ्रेमा लकडाउनलाई अटेर गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी कुमार विक्रम थापाका अनुसार आज (मंगलबार) १ सय ४९ जनालाई पक्राउ गरेको छ ।
कोरोना भाईरसको संक्रमण फैलिन नदिन, रोकथाम, नियन्त्रण तथा उपचारको प्रबन्ध गर्न सरकारले घोषणा गरेको लकडाउनलाई पूर्ण रुपमा पालना गराउन प्रहरी सक्रिय भएको डिएसपी थापाले बताए ।
जिल्ला प्रहरी कार्यालय, काभ्रे तथा मातहतबाट खटिएका प्रहरी टोलीले जिल्ला स्थित बिभिन्न वडा यरियाहरुबाट लकडाउन उल्लंघन गर्ने विभिन्न सवारी सधानहरु र सार्वजनिक स्थानमा आनावश्यक रुपमा हिड्ने मानिसहरुलाई नियन्त्रणमा लिएको थापाले जानकारी दिए ।
पक्राउ परेकाहरुलाई कोरोना भाईरस सम्बन्धी सचेतनामुलक अनुशिक्षण दिई २ घण्टा पश्चात छाडिएको उनले बताए ।
प्रहरीले आज १ सय ४९ जना मानिस, २ वटा कर, २३ वटा मोटरसाईकल, ४ वटा स्कुटी समेत नियन्त्रणमा लिएको डिएसपी थापाले जानकारी दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















