काभ्रे । लक डाउन भएपछि दैनिक जीवन यापनको समस्यामा परेका मजदुर, किसान र अशक्तलाई काभ्रेमा राहत वितरण गरेको छ । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम न्यूनिकरणका लागि परिस्थिति अनुसार सरकारले समय लम्भ्याएपछि समस्यामा परेका निम्न आयस्तर भएका मजदुर, किसान र अशक्तहरुलाई पनौती नगरपालिका वडा नं. ७, बनेपा नगरपालिका वडा नं. ८ र अखिल नेपाल ट्रेडयूनियन महासंघ, बनेपा नगर कमिटीले राहत वितरण गरेको हो ।
पनौती ७ ले १०५ जनालाई राहत वितरण
निम्न आयस्तर भएका वडा बासिन्दाको अभावलाई राहत दिनका लागि बुधवार पनौती नगरपालिका वडा नं. ७ को अगुवाईमा थोरै भएपनि सहयोग पुर्‍याउने उद्देश्यले वडा कार्यालयको तर्फबाट राहत वितरण गरेको वडा अध्यक्ष रामचन्द्र नास्नानीले बताए । विशेष गरी निम्न आयस्तर भएका परिवार, एकल र असाहय ब्यक्तिहरुको पहिचान गरी राहत वितरण गरेको उनले जानकारी दिए ।
वडा सदस्य पुरुषोत्तम कर्माचार्यका अनुसार वडाका १०५ जना परिवार, एकल र असाहयलाई चामल १०।१० किलो, एक।एक लिटर तेल, मिसाएको दाल एक।एक किलो, नुन, चिनी र चियापत्ति लगायतका खाद्यन्न सामग्री वितरण गरेको बताए ।
ट्रेडयूनियन महासंघले मजदुरहरुलाई राहत वितरण
यसैबीच अखिल नेपाल ट्रेडयुनिय महासंघ बनेपा नगर कमिटीले दैनिक ज्यालादारी मजदुरी गरिखाने २० परिवारलाई खाद्यन्न सहयोग गरेको छ । समितिका नगर संयोजक मिनराज केसीका अनुसार दैनिक ज्यालादारी गरेर खानेहरुको लकडाउनको कारण दैनिक गुजारा चलाउन समस्या भएपछि विभिन्न संघ÷संस्थाहरुको सहयोगमा एक।एक बोरा चामल, दाल दूई केजी, नुन, तेल र सावुन दूई वटाका दरले वितरण गरेको के.सी.ले जानकारी दिए ।
बन्दका कारण दैनिक ज्यालादारी खाने मजदुरहरुलाई हातमुख जोर्नै समस्या भएको भन्ने कुरा सुन्नमा आएपछि सामाजिक सञ्चालमार्फत सहयोगको आह्वान गरेपछि त्यहाँ आएको कमेन्टको आधारमा उनीहरुको नाम, सम्पर्क नम्बर र कस्तो खालको समस्या हो, त्यसको बारेमा वरपरकाहरुसँग यथार्थ बुझेर बुधवार ईलाका प्रहरी कार्यालय बनेपाको अनुमतिमा प्रहरी प्रशासनकै रोहबरमा वितरण गरेको उनले बताए ।
बनेपा–७ ले पनि राहत वितरण
यसैबीच बनेपा नगरपालिका वडा नं. ७ ले पनि बुधवार नै वडा भित्रका एक सय जना विपन्न परिवारलाई पहिलो चरणमा खाद्यन्न वितरण गरेको छ । वडा अध्यक्ष बर्ष शाक्यको नेतृत्वमा बुधवार सो राहत वितरण गरेको हो
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।