-
भुपेन्द्र लामा
२०१९ को डिसेम्बर महिनामा चिनको वुहान सहरबाट नयाँ कोरोना भाइरसको संक्रमण सुरु भइ हालसम्म विश्वभर नौ लाख भन्दा बढि मानिसलाई संक्रमण गरिसकेको छ भने ४७ हजार भन्दा बढिको ज्यान लिइसकेको छ । नेपालमा भने अहिलेसम्म यसका ६ जना संक्रमित व्यक्ति रहेको प्रयोगशाला परिक्षणबाट पुष्टि भएको छ । कोरोना संक्रमणको भयले विश्व नै आक्रान्त भइरहेको छ र सामाजिक असन्तुलनको स्थिति पैदा गरेको छ । यससँगै सामजिक संजालहरुमा प्रशस्त भ्रम फैलिएको छ ।
सुरुसुरुमा कोरोनाको जडिबुटी औषधि पत्ता लागिसकेको भ्रम विशेष गरि भारत र नेपालको सामाजिक संजालहरुमा फैलिन थाल्यो र त्यसले मुख्यधाराको मिडियाहरुमा पनि स्थान पायो । त्यसलगत्तै भारतका केन्द्रिय सामाजिक न्याय राज्यमन्त्री रामदास अथावालेले चिनियाँ कन्सुल जेनरल टाङ गुओकाइसँग मिलेर बौध भिक्षुहरु सहित “गो कोराना गो“ भन्दै नारा लगाएको र प्रार्थना गरेको भिडियो बहिरियो । त्यस्तै होलिमा “कोरोनासुर“ लेखेर टाँसेको पुत्ला दहन गरियो । भारतमै कोरोना नलाग्ने भन्दै अखिल भारतिय हिन्दु महासभाको आयोजनामा गौमुत्र र गोबर भोज गरियो ।
नेपालमा भने इसाई प्रचारकहरुद्वारा यसुको नाममा कोरोना भगाउने भन्दै प्रार्थना गर्दै गरेको भिडियो भाइरल भयो र लगतै उनिहरुलाई पक्राउ गरियो । त्यसलगत्तै पश्चिम तिरबाट एकजना धामीले घरको मुल ढोका नजिकै खन्दा कोइला भेटिने र उक्त कोइलाको टीका लगाउदा कोरोना नलाग्ने सन्देश दिएको भन्दै अफवाह फैलियो । त्यही सन्देश दलाइ लामाको नाममा फैलियो र घर घरमा कोइला खोज्न थालियो । त्यस्तै कोरोना प्रकोप रोक्न विभिन्न शक्ति पिठहरुमा पूजा र बलि चडाउन थालियो । यद्यपि विश्वभरिका सरकारहरुले भिडभाड जम्मा गर्न प्रतिबन्ध लगाएसँगै मन्दिर, मस्जिद, गुम्बा, गुरुद्वार, चर्च आदि धार्मिक स्थानहरुमा पूजापाठ, अनुष्ठान र प्रार्थनाहरु बन्द गरिएको छ ।
यस सन्दर्भमा कोरोना भाइरस, अन्धविश्वासको बढाव र वैज्ञानिक मिजासको विषय समेटेर यो आलेख तयार पारिएको हो ।
कोरोना भाइरस
कोरोना भाइरस एक प्रकारको आँखाले देख्न नसकिने सुक्ष्मजीव हो । यस प्रकारको भाइरसले विशेष गरि स्थनधारी प्राणिहरु र चराहरुमा रोग लगाउँदछ वा रोग नलगाई रहन सक्दछ । यसका साथै अन्य जीवहरुमा पनि रहन सक्दछ । यसको संक्रमण स्वास प्रस्वास प्रणालीमा हुन्छ ।
नयाँ कोरोना भाइरस (सार्स कोरोना भाइरस – २) भन्दा अगाडि पनि यस प्रकारको भाइरसको महामारी भइसकेको छ । “सार्स कोरोना भाइरस“ २००२÷०३ मा र “मर्स कोरोना भाइरस“ २०१२ देखि २०१४ सम्म महामारीको रुपमा फैलिएको पाइन्छ ।
यसले संक्रमण भएको २ देखि १४ दिनमा रोगको लक्षण देखाउँछ । तर केहिमा भने २७ दिनसम्म पनि देखिएको छ । यसले थोरैमा मात्रा जटिल किसिमको लक्षणहरु देखाउछ भने अधिकांशमा सामान्य लक्षण देखाउछ र लक्षण नै नदेखाउने गरेको समेत पाइन्छ । ज्वारो आउने, सुख्खा खोकी लाग्ने, सिंगान बग्ने, स्वास प्रस्वासमा गाह्रो हुने, ज्यान दुख्ने, आलाश्यपनको महसुस हुने आदि यसका प्रमुख लक्षणहरु हुन ।
यो स्वास प्रस्वास सम्बन्धि संक्रमण भएको हुँदा खोक्दा, हाँछ्यु गर्दा, मुख वा नाकबाट निस्किने छिटाहरुबाट मानिसबाट मानिसमा सर्दछ र संक्रमित व्यक्तिले प्रयोग गरेका वस्तुहरुबाट समेत यसको संक्रमण फैलिन्छ । यस रोगको अहिलेसम्म निश्चित औषधि र खोप पत्ता लागिसकेको छैन यद्यपि विश्वभरका वैज्ञानिकहरु औषधि र खोप बनाउन अहोरात्र खटिरहेका छन् । तर साबुन पानीले हात धुने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, खोक्दा, हाँछ्यु गर्दा कुइनो वा रुमालले नाक मुख छोप्ने, भिडभाडमा नजाने, माक्स लगाउने, सामाजिक दुरी बढाउने जस्ता क्रियाकलाप गरेर यसको रोकथाम गर्न सकिन्छ ।
अन्धविश्वास
अन्धविश्वास अज्ञात भयको आधारमा गरिने तर्कहीन विश्वास एवं अभ्यास हो । यसलाई लोक विश्वास, लोक विज्ञान पनि भनिन्छ भने कतिपयले यसलाई छद्म विज्ञान (सिउडो साइन्स) पनि भन्ने गरेका छन् । अन्धविश्वासको अस्तित्व संस्कार, संस्कृति र मायावी कथा कहानीहरुको माध्यमबाट पुस्तान्तरण हुँदै सदियौँ देखि धार्मिक, सांस्कृतिक, सामाजिक र व्यक्तिगत रुपमा रहदै आएको छ । यसको सकारात्मक वा नकारात्मक रुपमा मानिसको मनोवैज्ञानिक तथा सामाजिक स्थितिमा प्रभाव पार्दै आएको छ ।
अनुसन्धानहरुका अनुसार अन्धविश्वास, शंकाहरुलाई यथोचित राख्न र भविष्यको अनिश्चितताहरुलाई नियन्त्रणमा राख्न पूर्व–वैज्ञानिक समाजमा विकसित सांस्कृतिक परम्पराहरुको संकलन मानिन्छ । यसका अलावा जीवनमा आइपर्ने दुर्भाग्यपूर्ण घटनाहरुको सामाना गर्न, व्यक्तिले व्याख्या गर्न, व्यवस्थापन गर्न वा नियन्त्रण गर्न असमर्थ परिस्थिति वा सन्दर्भहरुलाई नियन्त्रण गर्ने शक्ति वा सम्भावनाहरुको सिर्जना गर्ने उपायको रुपमा पनि यसको विकास भएको भनिन्छ । साथै कुनै परिस्थितिहरुको भयले सिर्जना गरेको मनोवैज्ञानिक असरले पनि यसलाई बढाव दिएको देखिन्छ ।
हाल फैलिएको नयाँ कोरोना भाइरस संक्रमणले मनोवैज्ञानिक प्रभावले गर्दा पनि अन्धविश्वास मौलाएको देखिन्छ । यसक्रममा भएका÷गरिएका अन्धविश्वासपूर्ण क्रियाकलापहरुले कोरोनाको नियन्त्रण गर्ने न कुनै वैज्ञानिक तथ्य छन् न त त्यस्ता क्रियाकलापहरु सामान्य तर्क सम्मत पनि मान्न सकिन्छ ।
वैज्ञानिक मिजास
विज्ञान प्रकृतिको शाश्वतताको खोजी गर्ने पद्धति हो, जसमा सुसंगठित प्रश्नहरुको माध्यमबाट विषय वस्तुको ज्ञान बटुलिन्छ र प्रमाणहरुको आधारमा उक्त ज्ञानको वैधता प्रधान गरिन्छ ।
वैज्ञानिक अनुसन्धानकर्ताको दिमागमा आएका कयौं विचार र सिद्धान्तहरु अत्यन्त मौनता र गहनताका साथ कयौं पटक गम्भीर आलोचना र प्रतिकुल परिक्षणबाट गुज्रिएको हुन्छ । त्यसैले विज्ञानलाई आफ्नै निर्मम आलोचक पनि भनिन्छ ।
वैज्ञानिक ज्ञानको भण्डार हुनु, गहन अनुसन्धान, आविष्कार र अन्वेषणको गतिमा वृद्धि हुनु मात्रै वैज्ञानिक युग हुनुको पर्याय कदापी हुन सक्दैन । यसको लागि नागरिकमा वैज्ञानिक मिजास हुनु अन्यन्त आवश्यक हुन्छ ।
वैज्ञानिक मिजास मानविय स्वभावको एक ढाँचा हो जसमा ज्ञानको भोक हुन्छ तर अवलोकन, अनुभव वा प्रयोगद्वारा स्थापित ज्ञानलाई मात्र अधिग्रहण गर्दछ । वैज्ञानिक मिजास हुन भनेको सहासी दिमागको प्रतिफल मानिन्छ । वैज्ञानिक मिजास भएका मानिसहरुमा स्थापित विचार, विश्वास र अन्धविश्वासहरुलाई जाँच्ने सहास हुन्छ । यद्यपि वैज्ञानिक दिमाग, वैज्ञानिक मिजास, वैज्ञानिक मनोवृत्ति वैज्ञानिकहरुको मात्र पेवा होइन, यो सबै नागरिकको अधिकार हो । जब कि कतिपय वैज्ञानिकहरु आफै पनि अन्धविश्वासमा लिप्त भएको देखिन्छ ।
त्यसैले ज्ञान प्राप्त गर्ने, प्राप्त ज्ञानलाई जाँच्ने र त्यसको जीवनमा प्रयोग गर्नको लागि प्रत्येक मानिसमा वैज्ञानिक मिजास हुनु आवश्यक छ । यसले ज्ञानमा आधारित विकसित एवं उन्नत राष्ट्रको निर्माणमा ठूलो भुमिका निर्वाह गर्दछ ।
जतिसुकै सामाजिक प्रगती र वैज्ञानिक ज्ञानको विकास भए तापनि विश्वका विभिन्न समुदाय र संस्कृतिहरुमा आजसम्म पनि अन्धविश्वासले जरो गाडेको पाइन्छ । मानिसहरु जुन सुकै धार्मिक विश्वास, आर्थिक समाजिक वा शैक्षिक स्तरका भए पनि घटनाहरुलाइ बुझ्न र त्यसबाट आफुलाई बचाउन मिथक एवं अन्धविश्वासहरुमा निर्भर भएको पाइन्छ ।
वैज्ञानिक चेतको विकास अबको युगको अपरिहार्यता हो । अतः कुनै पनि समस्याको वैज्ञानिक एवं सफल हल खोज्ने हो भने अन्धविश्वासलाई त्यागेर नागरिकमा वैज्ञानिक मिजासको विकास गर्नु पर्दछ । वैज्ञानिक मिजासको विकास स्वयं उत्पन्न हुदैन, राज्य, शैक्षिक संस्थानहरु र नागरिकहरुले आ–आफ्नो स्थानबाट प्रयत्नशील रहनु पर्दछ ।
(लेखक लामा माइक्रोवायोलोजिकल स्टुडेन्टस् असोसिएशन अफ नेपालका अध्यक्ष हुन् ।)
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















