तेमाल । काभ्रेको तेमाल गाउँपालिकामा सर्वदलीय बैठक सम्पन्न भएको छ । सर्वदलीय बैठक तेमाल गाउँपालिकाका अध्यक्ष सलामसिं तामाङको अध्यक्षतामा आज (विहिबार) सम्पन्न भएको हो ।
बैठकले कोरोना भाइरस (कोभिड–१९) रोग संक्रमण रोकथाम गर्न लकडाउनलाई अझ प्रभावकारी बनाउने निर्णय गरेको गाउँपालिका स्वास्थ्य संयोजक शिवहरि पाठकले जानकारी दिएको छ । प्रत्येक वडामा सर्वदलीय समिति बनाएर लकडाउनलाई अझ प्रभावकारी बनाउने निर्णय भएको संयोजक पाठकले बताए । ‘वडा अध्यक्षको संयोजकत्वमा सबै वडामा सर्वदलिय समिति बनाउने निर्णय भएको छ ।’ पाठकले भने, ‘सर्वदलिय समितिले नै सचेतनामूलक कार्यक्रम संचालन गर्ने निर्णय भएको हो ।’
बैठकमा गाउँपालिका उपाध्यक्ष दुर्गामाया तामाङ, प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईंकेल, नेकपा प्रतिनिधहरु जेनिश लामा, डि.एम. लामा, इन्द्रमान लामा, नेपाली काँग्रेस प्रतिनिधि तिमाल सिं तामाङ, संघीय समाजवादी पार्टीका प्रतिनिधि स्त्रीमाया तामाङ, स्वास्थ्य संयोजक शिवहरि पाठक, प्रहरी चौकी इन्चार्ज जोगेन्द्र पण्डितको सहभागीता रहेका थिए ।
यस्तो छ सर्वदलिय निर्णयहरुः
१) तेमाल गाउँपालिका भित्र लकडाउनलाई अझ प्रभावकारी बनाउनको लागि आम तेमालबासीहरुमा तपशिल बमोजिम कार्यहरु पूर्ण रुपमा बन्द गर्न सर्वदलिय बैठकबाट आव्हान गर्ने निर्णय गरियो ।
क) अत्यावश्यक बाहेक घरबाहिर ननिस्कने ।
ख) सार्वजनिक स्थलहरुमा भिडभाड गर्ने, खेलमैदानमा भिडभाड गरी खेल खेल्ने, अनावश्यक जमघट तथा भोजभतेर गर्ने कार्य पूर्ण रुपमा नगर्न ।
ग) अत्यावश्यक बाहेक मोटरसाईकल, ट्रक, बस लगायतका सवारी साधानहरु सञ्चालन नगर्ने ।
घ) होटल पसल संचालन तथा मदिराजन्य वस्तुको विक्रि वितरण पूर्णरुपमा बन्द गर्ने ।
ङ) निश्चित समय बाहेक अरु बेला खाद्यन्न पसल सञ्चालन नगर्ने ।
२) कोरोना भाइरस (कोभिड–१९) रोग संक्रमण रोकथाम गर्न वडा अध्यक्षको संयोजकत्वमा वडा समिति समेत रहेने गरि एक सर्वदलिय समिति बनाई सचेतनामूलक कार्यक्रम संचालन गर्ने निर्णय गरियो । साथै विदेशबाट आएका व्यक्तिहरुको थप पहिचान गरी विवरण संकलन गरि तत्काल गाउँपालिकामा पठाउने निर्णय गरियो ।
३) कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमणका कारणले विभिन्न उद्योग, कलकारखानाहरु, निर्माण कम्पनीहरु समेत बन्द भएको अवस्थामा दैनिक ज्यालादारी गरी गुजारा चलाईरहेका परिवारलाई आवश्यकतानुसार राहत उपलब्ध गर्नका लागि वडा स्तरीय सर्वदलीय समितिले पहिचान गरी सिफारिस गर्ने निर्णय गरियो । साथै अन्यत्र रहेका तेमालका स्थायी बासिन्दाले लकडाउन अवधि भर समस्या परेमा तेमाल गाउँपालिकामा सम्पर्क गर्न आव्हान गर्ने निर्णय गरियोे ।
४) आवश्यकतानुसार सर्वदलिय बैठक वस्ने गरि आजको सर्वदलिय बैठक समापन गर्ने निर्णय गरियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















