खगेन्द्र हमाल
सुर्खेत । जिल्लाको बिरेन्द्रनगर नगरपालिकाकी उप–मेयर मोहनमाया ढकालले दैनिक ज्यालादारी मजदुरी गरेर जिवन चलाउन बाध्य परिवारलाई भोकै नराख्ने बताएकी छिन् । विहिबार बिरेन्द्र नगर नगरपालिकाले उनीहरुलाई राहत बितरण गर्दै उपमेयर ढकालले उक्त कुरा बताएकी हुन् ।
‘विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९)को यस बिषम परिस्थितिमा सरकारले लकडाउन घोषणा गरेको समय अवधिभर दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरुले लकडाउनको समयमा काम गर्न नपाएर दैनिक छाक टार्न गाह्रो भएकोले सबै वडाहरुमा राहत वितरण थालेका छौं ।’ उपमेयर ढकालेले जानकारी दिंदै भनिन्, ‘वीरेन्द्रनगर नगरपालिकाको १४ गते बसेको बैठकले लकडाउनको समय अवधिभर ज्यालादारी काम गरेर दैनिकी चलाउन बाध्य नागरिकहरुलाई राहत दिने निर्णय गरेकोले नगरपालिकाले यसलाई कार्यन्वयन गर्न थालेको हो ।’
बिरेन्द्रनगर नगरपालिकाले सबै वडाहरुमा राहत स्वरुप ४ जना सम्म परिवार संख्या हुनेलाई १५ केजी चामल, एक केजी नुन र एक प्याकेट तेल र ४ जना भन्दा वढि सदस्य रहेको परिवारको हकमा ३० केजी चामल, एक केजी नुन र एक प्याकेट तेल वितरण गर्न लागेको ढकालले जानकारी दिइन् ।
सरकारले घोषणा गरेको लकडाउन समय अवधिभरी कुनै पनि नागरिकले खाना नपाएर भोकै बस्नुपर्ने अवस्था नहोस भनेर नगरपालिकाले राहत वितरण गरेको बताउदै लकडाउनको समयमा अनावश्यक घर बाहिर हिडडुल नगरी घरमै बसेर सरकारलाई सहयोग गर्न आग्रह समेत उनले गरिन् ।
‘कोरोना भाईरस नियन्त्रणमा लागी परेका विश्वका स्रोत साधन सम्पन्न शक्तिशाली राष्ट्रहरु पनि यो महामारीबाट बिचलित भएको भयावह अवस्थामा छ ।’ उमपेयर ढकालले भनिन्, ‘हाम्रो जस्तो गरिब मुलुकमा जहाँ स्रोत र साधनको निकै अभाव छ, यस्तो बेलामा यसको रोकथाम नियन्त्रण भनेकै सावधानी अपनाउनु बाहेक अन्य विकल्प नै छैन ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।