चुडामणि तिमल्सिना
काभ्रे । बेथाञ्चोक गाउँपालिका वडा नं १, फुर्केथलीका बासिन्दाहरु सहज जीवन यापनको लागि आय आर्जनको प्रमुख श्रोतको रूपमा पशुपालनलाई अप्नाउँदै आएका छन् ।
परम्परागत रुपमा यहाँका स्थानीयहरुले पशुपालनलाई थेगिरहनु परेकाले किसानहरुले सोचे अनुरुप आम्दानी गर्न नसक्दा यस क्षेत्रका कृषकहरु चिन्तित देखिन्छन् ।
मुलुकका ९० प्रतिशत नागरिकहरु कृषिमा आधारित भएको देशका कृषकहरुको जीवनस्तरको बारेमा अध्ययन गर्ने हो भने कहाली लाग्दो अवस्थामा रहेको पाइन्छ ।
यहाँका किसानहरूको आय श्रोतको मुख्य बाटो भनेको पशुपालन नै हो । पशु पालन अन्तरगत गाई, भैंसी र बाख्रापालन व्यवसायमा आश्रति भै आफ्नो पारिवारिक गुजारा गर्दै आएका यस क्षेत्रमा बसोबास गर्ने कृषकहरुको कथाव्यथा भने आफ्नै ठाउँमा पिडादायी रहेको पाइन्छ ।
खाद्यन्नतर्फ यस क्षेत्रको मुख्य बाली भनेको मकै हो, जुन वर्षातको समयमा हुने गर्छ । सो समयमा यहाँका कृषकहरु अत्यन्तै पिडाको अवस्थामा भेटिन्छन् । असार देखि असोजसम्म आफुले लगाएको बालीनाली भित्र्याउन दिनभरको लागि बाँदर कुर्ने, सुगा धपाउने अनि रातभर दुम्सी, भालु एवं बँदेल लगायतका बन्यजन्तुले किसानहरुले लगाएको मकै बाली नष्ट गरिदिने भएकाले यहाँका मानिसहरुलाई वार्षिक ३ महिना समेत खान नपुग्ने भएपछि एकाध वाहेक अधिकाँस स्थानीय कृषकहरु गरिवीको रेखामुनि रहन बाध्य हुनु परेको छ।
आफ्नो परिवारको बिहान बेलुकाको छाक टार्नैका निम्ति भए पनि कोहि सहर त कोहि बिदेश पलायन हुन बाध्य छन् यहाँका यूवाहरु ।
गरिवीले सताएको यो परिस्थितिमा सामाजिक मर्यादा जोगाउन र चाडपर्वका बखत परिवारमा वालवच्चाहरुका साथ मिठो मसिनो खान र एक झुम्रो भएपनि राम्रो लगाउनकै निम्ति यहाँका यूवाशक्ति बिदेशिनु परेको बताउछिन् स्थानीय श्री त्रीवेणी आधारभुत बिद्यालयकी वालकक्षा शिक्षिका अमिरा चौलागाईं ।
‘श्रीमान बेरोजगार हुनुहुन्छ । म भने राज्य र समुदायको नजरमा रोजगार नै देखिन्छु ।’ चौलागाईं भन्छिन्, ‘बिहान १० बजे स्कुल जान्छु स–साना वालवालिकाहरुसँग दिन बिताउँछु । वरपर अभिभावकहरु भेट्छु, नमस्कार गर्छन्, तर मलाई आफ्नो घर चलाउन र इज्जत धान्नै धौ–धौ परेको छ ।’
महिना दिन काम गरेको पारिश्रमिक जम्मा ६ हजार पाउने उनलाइ घर चलाउनै समस्या भएको छ ।
‘त्यसैले मैले पनि आफ्नो क्षमता अनुसारको लगानी गरि पाडा पालन सुरु गरेको छु आजकल ।’ उनले भनिन्, ‘रेडियो, टेलिभिजन मार्फत सुन्छु, कृषि तथा पसुपालनको क्षेत्रमा सरकारले पर्याप्तरूपमा अनुदानको व्यवस्था गरेको छ, तर त्यो सुबिधा कुन वर्गका मानिसहरुले पाएक छन् ? सम्बन्धित निकायलाई कुनै पत्तो छैन ।’
जबसम्म नेपाल सरकार कृषि र कृषकहरु प्रति उत्तरदायी हुँदैन तबसम्म राष्ट्रको प्रगति सम्भव नहुने उनको तर्क छ ।
‘त्यसैले कृषि तथा पशुपालनको नाममा राज्यले छुट्याउने अनुदान रकम हामी जस्ता निम्न वर्गको पहुँचमा आउने कहिले ?’ उनको प्रश्न छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।